काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएलगत्तै पार्टीभित्र र बाहिरका राजनीतिक छलफलमा सक्रिय भएका छन्। एकता सन्देश सभालाई सम्बोधन गर्न आइतबार नयाँदिल्ली गएका प्रचण्ड सोमबार राति स्वदेश फर्किएका हुन्।
दिल्ली बसाइका क्रममा प्रचण्डले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। त्यसपछि काठमाडौं फर्किएका प्रचण्ड आज बिहानैदेखि पार्टीका शीर्ष नेताहरूसँग निरन्तर बैठकमा जुटेका छन्।
प्रचण्डको सचिवालयका अनुसार उनी मुख्यतः राष्ट्रियसभा निर्वाचन, राजनीतिक तालमेल र समसामयिक विषयमा आन्तरिक छलफलमा व्यस्त छन्। आवश्यक परे अन्य दलका नेताहरूसँग पनि संवाद हुने सम्भावना रहेको स्रोतले जनाएको छ।
आगामी राष्ट्रियसभा निर्वाचनलाई केन्द्रमा राख्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच तालमेलको तयारी भइरहेको छ। सोही विषयमा पछिल्ला दिनहरूमा शीर्ष तहमा अनौपचारिक भेटघाट र छलफल जारी छ।
छलफलमा एमालेले ७ सिट, नेपाली कांग्रेसले ७ सिट र नेपाली कम्युनिष्ट पार्टीले ४ सिट पाउने प्रारम्भिक मोडेलमा कुराकानी भइरहेको बताइन्छ। तर, प्रचण्डले मधेश प्रदेशका केही साना दललाई पनि समेट्दै मतभारका आधारमा सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
शीर्ष नेताहरूको छलफलबारे जानकार स्रोतका अनुसार प्रचण्डले राष्ट्रियसभामा ‘सम्मानजनक सिट’ सुनिश्चित भए सहकार्यका लागि तयार रहेको स्पष्ट पारेका छन्। आगामी केही दिनभित्र यस विषयमा थप राजनीतिक संवाद र सहमतिको प्रयास तीव्र हुने देखिएको छ।





प्रतिकृया दिनुहोस्