काठमाडौँ ।
गङ्गाजमुना गाउँपालिका वार्ड नं ७, धादिङ निवासी समाजसेवी तथा होटल चिसापानीका सञ्चालक रमेश (राजु) रेग्मीले शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानलाई यसपटक पनि निरन्तरता दिएका छन्। सामाजिक उत्तरदायित्वसँगै पत्रकारितामा समेत सक्रिय रहँदै आएका रेग्मी Standard Khabar Media का फोटो पत्रकारसमेत हुन्।
शिवपुरी गाउँपालिका–१ मा अवस्थित श्री भूमे देवी माध्यमिक विद्यालयलाई रेग्मीले १ लाख ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गर्नुका साथै विद्यार्थीहरूको आवास व्यवस्थापन सहज बनाउने उद्देश्यले ७० हजार रुपैयाँ बराबरको होस्टल सञ्चालन सहयोग प्रदान गरेका छन्। यस सहयोगले विशेषगरी आर्थिक अवस्था कमजोर तथा टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्यक्ष राहत पुग्ने विश्वास गरिएको छ।
यसैगरी, उनले सोही वडामा रहेको श्री हिल्चे आधारभूत विद्यालयलाई पनि १ लाख ५१ हजार रुपैयाँको अक्षय कोष सहयोग प्रदान गरेका छन्। अक्षय कोषबाट प्राप्त ब्याज रकम विद्यालयको शैक्षिक सुधार, शैक्षिक सामग्री व्यवस्थापन तथा विद्यार्थी हितका कार्यक्रमहरूमा खर्च गरिने विद्यालय स्रोतले जनाएको छ।
शिक्षा नै समाज परिवर्तनको आधार हो भन्ने मान्यताका साथ गरिएको यस सहयोगलाई स्थानीय समुदायले सकारात्मक र प्रेरणादायी कदमका रूपमा लिएका छन्। पत्रकारितामार्फत समाजका समस्या उजागर गर्दै आएका रेग्मीले व्यवहारमै शिक्षा क्षेत्रमा सहयोग गरेर जिम्मेवार नागरिकको परिचय दिएको स्थानीयको भनाइ छ।
Standard Khabar Media का फोटो पत्रकारसमेत रहेका रेग्मीले आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा र सकारात्मक परिवर्तनका क्षेत्रमा आफूले सकेको योगदान निरन्तर दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

दुई वटा विद्यालयमा एकैपटक उल्लेखनीय आर्थिक सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व वहन गरेकोमा विद्यालय परिवार, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीले रमेश (राजु) रेग्मीप्रति धन्यवाद व्यक्त गर्दै उनको समाजसेवी भावना अझ व्यापक बन्दै जाओस् भन्ने कामना गरेका छन्।





प्रतिकृया दिनुहोस्