काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच बनेको राजनीतिक गठबन्धनप्रति कडा आलोचना गरेका छन्। उनले नगरपालिका नै प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्नु आत्मघाती हुने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले बालेन शाहको लोकप्रियता उनको स्वतन्त्र छवि र व्यवस्थाविरोधी प्रतीकात्मक भूमिकासँग जोडिएको बताए। तर विवादित छविका रवि लामिछाने नेतृत्वको दलसँग आबद्ध भएसँगै त्यो आकर्षण तीव्र गतिमा कमजोर हुँदै जाने उनको दाबी छ।
“बालेनको लोकप्रियता स्वतन्त्र उम्मेदवारका रूपमा बनेको थियो,” बस्नेतले लेखेका छन्, “तर स्पष्ट भिजन र दीर्घकालीन राजनीतिक दिशाविना सत्ताको भर्याङ चढ्न खोज्ने दलसँग जोडिएपछि त्यो लोकप्रियता टिकिरहन्छ भन्ने ग्यारेन्टी हुँदैन।”
बस्नेतले रास्वपाको राजनीतिक अभ्यासलाई अवसरवादी र अस्थिर करार गर्दै, जनताको भरोसा जित्नेभन्दा सत्तामा पुग्ने लक्ष्य मात्रै देखिएको टिप्पणी गरेका छन्। उनका अनुसार विचार, नीति र संस्थागत प्रतिबद्धताविना गरिएको राजनीतिक प्रयोगले अन्ततः जनतामै निराशा पैदा गर्छ।
उनले भदौ २४ गते भएको घटनालाई स्मरण गर्दै उक्त घटनामा राज्य व्यवस्था र लोकतान्त्रिक प्रणालीमाथि आक्रमण भएको आरोप पनि लगाए। बस्नेतले उक्त घटनाले भूराजनीतिक द्वन्द्व सिर्जना गर्ने र मुलुकलाई अस्थिरतामा धकेल्ने षड्यन्त्रको संकेत दिएको भन्दै त्यसमा बालेन–रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका रहेको दाबी गरेका छन्।
“राज्य र लोकतन्त्रमाथि प्रहार हुने गतिविधिमा मौन समर्थन वा अस्पष्ट भूमिकाले पनि जिम्मेवारीबाट उम्किन सकिँदैन,” बस्नेतको भनाइ छ।
नयाँ–नयाँ दल खोल्दै जाने प्रवृत्तिले समस्या समाधान नहुने उनको निष्कर्ष छ। उनले विद्यमान राजनीतिक दलभित्र सुधार, अनुशासन र जवाफदेहिता सुदृढ गर्दै दीर्घकालीन राजनीतिक सुधारमा लाग्नुपर्नेमा जोड दिएका छन्।
बस्नेतले अन्त्यमा गम्भीर चेतावनी दिँदै भनेका छन्, “यस्तो संवेदनशील घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ। नत्र नयाँ बोतलमा पुरानै रक्सी पिउँदै हामी फेरि–फेरि उही भ्रमको सिकार भइरहनेछौं।”





प्रतिकृया दिनुहोस्