जनकपुरधाम।
नेकपा एमालेका सचिव महेश बस्नेतमाथि मधेशी समुदायलाई लक्षित गर्दै अपमानजनक अभिव्यक्ति दिएको आरोप लागेको छ। जनकपुरधाममा भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभामा बालेन शाहले प्रयोग गरेको ‘छौरा’ शब्दको अर्थ गलत रूपमा व्याख्या गरेको भिडियो सार्वजनिक भएपछि बस्नेतको आलोचना बढेको हो।
गत सोमबार आयोजित सभामा बालेन शाहले मैथिली भाषामा ‘मधेशिया छौरा’ भन्ने शब्द प्रयोग गरेका थिए। मैथिली भाषामा ‘छौरा’ को अर्थ नेपालीमा ‘केटो’ वा ‘छोरा’ भन्ने हुन्छ। तर बस्नेतले उक्त शब्दलाई ‘छाउरा’ भन्दै फरक र अपमानजनक अर्थमा प्रस्तुत गरेको आरोप आलोचकहरूले लगाएका छन्।
यस विषयलाई लिएर सामाजिक सञ्जालमा तीव्र प्रतिक्रिया आएको छ। धेरैले यसलाई भाषिक संवेदनशीलतामाथिको प्रहार भन्दै आपत्ति जनाएका छन् भने कतिपयले कानुनी कारबाहीको मागसमेत गरेका छन्।
मधेशी आयोगका पूर्व अध्यक्ष विजय दत्तले सामाजिक सञ्जालमार्फत खुला पत्र लेख्दै नेताहरूले भाषिक विविधताको सम्मान गर्नुपर्ने बताएका छन्। उनले अर्थ नबुझी टिप्पणी गर्नु गैरजिम्मेवार व्यवहार भएको उल्लेख गर्दै, आवश्यक परे भाषाविद्सँग परामर्श लिन सुझाव दिएका छन्।
डा. अभिषेकराज सिंहले पनि बस्नेतको अभिव्यक्तिप्रति असहमति जनाउँदै माफी माग्न आग्रह गरेका छन्। उनका अनुसार ‘छौरा’ शब्द सन्तान, युवा वा आम मानिसलाई जनाउन सामान्य रूपमा प्रयोग हुने शब्द हो, जसलाई अपमानजनक अर्थ दिनु उचित हुँदैन।
यसैबीच धनुषाको बटेश्वर गाउँपालिका–३ का लालबाबु साहले बस्नेतविरुद्ध नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत साइबर ब्यूरोमा उजुरी दिने तयारी गरेको बताएका छन्।





प्रतिकृया दिनुहोस्