काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी बलियो अवस्थामा उभिने संकेत दिएका छन्। सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले जनमत, कार्यक्षमता र सार्वजनिक छविलाई आधार मानेर उम्मेदवार छनोट गरिएको दाबी गरे।
उनका अनुसार विभिन्न राजनीतिक धार समेटेर पार्टी विस्तार गरिए पनि प्रतिनिधि सभा र समानुपातिक दुवै तर्फ समावेशितालाई प्राथमिकतामा राखिएको छ। “पार्टीभित्रका सबै पक्षलाई सन्तुलित रूपमा समेट्ने प्रयास गरिएको छ,” उनले भने।
गोरखाको राजनीतिक समीकरणबारे बोल्दै दाहालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जितको सम्भावना बलियो बनेको बताए। उनले भट्टराईसँग भएका पछिल्ला संवादले दुवै पक्षबीचको सम्बन्ध क्रमशः सहज बन्दै जाने विश्वास पनि व्यक्त गरे।
संयोजक दाहालले जेन्जी आन्दोलन र त्यसपछिका घटनाक्रममा पार्टीले लिएको भूमिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेकपाको छवि सकारात्मक बनेको उल्लेख गरे। उनले केही नयाँ राजनीतिक शक्तिमा देखिएको उत्साह भने उम्मेदवारका गतिविधि र स्रोतबारे सार्वजनिक हुँदै जाँदा क्रमशः कमजोर बन्दै गएको टिप्पणी गरे।
पार्टीभित्र देखिएका असन्तुष्टिहरू संवादमार्फत समाधान गरिएको र केही ठाउँमा अनुशासनात्मक कदम चालिएको जानकारी दिँदै उनले नतिजा आफ्नो पक्षमा ल्याउन संगठनले सक्रिय रूपमा काम गरिरहेको बताए।
बैठकले राष्ट्रिय सभा संसदीय दलको नेतृत्वमा बेदुराम भुसाललाई चयन गरेको छ। प्रमुख सचेतकको जिम्मेवारी मदनकुमारी शाह ‘गरिमा’ लाई र सचेतकको जिम्मेवारी गंगा बेलवासेलाई दिइएको पार्टीले जनाएको छ। नेता नारायणकाजी श्रेष्ठ निर्वाचनमा होमिएपछि नयाँ टोली गठन गरिएको स्पष्ट पारिएको छ।





प्रतिकृया दिनुहोस्