काठमाडौं। आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले महत्वाकांक्षी आर्थिक तथा शासकीय सुधारका योजनासहित आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ। २२ कम्युनिष्ट तथा समाजवादी समूहको एकीकरणबाट बनेको उक्त पार्टीले ‘तारा’ चुनाव चिन्हमार्फत निर्वाचनमा होमिँदै पाँच वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य अघि सारेको छ।
पार्टीले सार्वजनिक गरेको घोषणापत्रमा वार्षिक कम्तीमा १० प्रतिशत आर्थिक वृद्धि दर कायम गर्ने र प्रत्येक वर्ष ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने प्रतिवद्धता जनाइएको छ। बहुआयामिक गरिबी दरलाई उल्लेख्य रूपमा घटाउने, १ लाख रिटर्नी युवालाई उद्यमशीलतामा जोड्ने तथा उत्पादनमुखी क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्ने योजना पनि समेटिएको छ।
सुशासन र भ्रष्टाचारविरुद्ध कठोर कदम
नेकपाले सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न विशेष आयोग गठन गर्ने प्रस्ताव अघि सारेको छ। भ्रष्टाचारमा शून्य सहनशीलता अपनाइने र दोषीको सम्पत्ति राष्ट्रियकरणसम्मको नीति लिइने उल्लेख छ। प्रशासनिक सेवा प्रणालीलाई डिजिटल र पारदर्शी बनाउँदै ‘फेसलेस’ सेवा प्रवाहको अवधारणा लागू गर्ने दाबी गरिएको छ।
कृषि, स्वास्थ्य र शिक्षामा सुधार
घोषणापत्रमा आगामी दशकलाई ‘कृषि लगानी दशक’ घोषणा गर्दै प्रमुख खाद्यान्नमा आत्मनिर्भर बन्ने लक्ष्य राखिएको छ। किसानलाई समर्थन मूल्य, पेन्सन तथा कृषि बीमाको व्यवस्था गर्ने योजना पनि समावेश गरिएको छ।
स्वास्थ्य सेवा पूर्णरूपमा निःशुल्क बनाउने र सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने लक्ष्य तय गरिएको छ। शिक्षातर्फ ‘एक पालिका, एक स्मार्ट विद्यालय’ कार्यक्रम ल्याउने तथा विश्वविद्यालयहरूलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
पूर्वाधार र ऊर्जा क्षेत्रमा दीर्घकालीन योजना
पार्टीले पाँच वर्षभित्र १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य अघि सारेको छ। साथै, प्रमुख राजमार्ग विस्तार, मेट्रो रेल निर्माण र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राखिएको छ। पर्यटन प्रवर्द्धनमार्फत रोजगारी र आय वृद्धिमा टेवा पुर्याउने योजना पनि घोषणापत्रमा उल्लेख छ।
सामाजिक न्याय र परराष्ट्र नीति
दलित, महिला, आदिवासी जनजाति र सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न संविधान संशोधनको प्रस्ताव गरिएको छ। परराष्ट्र नीतिमा असंलग्नता कायम राख्दै सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने नीति लिइने उल्लेख गरिएको छ।
नेकपाले आफ्नो घोषणापत्रमार्फत राजनीतिक स्थिरता, आर्थिक रूपान्तरण र सामाजिक न्यायलाई मुख्य आधार बनाएको दाबी गरेको छ।





प्रतिकृया दिनुहोस्