उदीयमान गायक बिशाल क्षेत्री (थापा) को पहिलो सांगीतिक प्रयास ‘एकतर्फी’ सार्वजनिक भएको छ। र’ (Raw) संस्करणमा तयार गरिएको उक्त गीतमा गायक, गीतकार तथा संगीतकारको रूपमा बिशाल क्षेत्री (थापा) कै एकल सिर्जना रहेको छ।
गीत एकतर्फी प्रेमको भावनामा आधारित छ। गीतमा एक युवकले एक युवतीप्रति गहिरो माया राख्ने तर युवतीले माया गर्छिन् कि गर्दिनन् भन्ने अन्योलको अवस्थालाई प्रस्तुत गरिएको छ। युवकले युवतीलाई फूलभन्दा पनि सुन्दर ठान्ने, उसको आँखामा हराउने र उसको सुन्दरताको बयान गर्न नसक्ने भावनालाई गीतमार्फत व्यक्त गरिएको छ।
गीतमा निस्वार्थ प्रेमको झल्को देखिन्छ। “तिमीले माया नदिए पनि म तिमीलाई सधैं माया गरिरहन्छु” र “तिमी मेरो नभए पनि म तिम्रै हुँ” भन्ने भावनाले गीतलाई अझ मार्मिक बनाएको छ।
युवकले गीतमार्फत आफ्नो भावना व्यक्त गर्दै “माया दिन्छौ कि दिंदैनौ?” भन्ने प्रश्न पनि राखेको छ। साथै, उसले युवतीलाई आफ्नो जीवनमा पाएको खण्डमा खुशीसाथ बाँच्ने, कहिल्यै धोका नदिने र विश्वास नतोड्ने प्रतिबद्धता पनि जनाएको छ।
भर्खरै सांगीतिक क्षेत्रमा प्रवेश गरेका युवा कलाकार बिशाल क्षेत्री (थापा) को यो र’ (Raw) संस्करणमा सार्वजनिक गरिएको पहिलो गीत हो। उनले दर्शक तथा श्रोताको साथ र माया पाए आगामी दिनमा अझ राम्रो सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।





प्रतिकृया दिनुहोस्