बारा। जेनजी आन्दोलन तीव्र बन्दै गएपछि बाराको पथलैया–परवानीपुरदेखि सिमरा क्षेत्रसम्मको दैनिक जीवन अस्तव्यस्त बनेको छ। आन्दोलनकारीले विभिन्न स्थानमा अवरोध सिर्जना गरेपछि मालवाहक ट्रक, पेट्रोलियम बोकेका ट्यांकरसहित सयौँ सवारीसाधन घण्टौँदेखि बाटोमै अलपत्र परिरहेका छन्।
वीरगञ्ज भन्सारबाट दैनिक पाँच सयभन्दा बढी ट्रक–ट्यांकर छुट्ने गरे पनि बिहीबार बिहानैदेखि सडक बन्द हुँदा कतिपय चालकहरू रातभरै बाटोमै रोकिएका छन्। हेटौँडा–१९ का चालक दीपक थापाले लगातार दुई दिनदेखि जामको पीडा व्यहोरिरहेको बताए। “हिजो दुई घण्टा रोकियौँ, आज तीन घण्टादेखि जाममै छौं,” उनले भने, “हामी जस्ता श्रमिक पीडित छौं, तर जिम्मेवार मान्छेहरूलाई केही परेको छैन।”
कर्फ्यु अवज्ञा, अश्रुग्यास र हवाई फायर
सिमरा क्षेत्रमा जारी कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शन गरिएको भन्दै प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन सेल अश्रुग्यास र एक राउन्ड हवाई फायर गरेको जानकारी बाराका एसपी सन्तोष तामाङले दिएका छन्। जेनजी समर्थकहरूले आफ्ना युवामाथि भएको कुटपिटको विरोधमा ९ जनाविरुद्ध किटानी जाहेरी समेत दर्ता गराएका छन्। यसबीच दुई वडाध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राजनीतिक प्रतिक्रियाहरू
प्रगतिशील राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्माले जेनजी आन्दोलनले देखाएको बलिदानलाई बेवास्ता गर्दै पुराना दलहरू फेरि जनता झुक्याउने प्रयासमा लागेको आरोप लगाएका छन्।
त्यसैगरी, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थिति थप जटिल नबनोस् भनेर सबै पक्षलाई उच्च संयमता अपनाउन आग्रह गरेका छन्।
कलाकार रिमा विश्वकर्माले पनि भ्रष्ट नेतृत्वविरुद्ध उठेको चेतनाको रूपमा जेनजी आन्दोलनलाई व्याख्या गर्दै निराशावादी राजनीति अब स्विकार्न नसकिने प्रतिक्रिया दिएकी छन्।
विमानस्थलमा तनावपछि फेरि शान्तिपूर्ण उडान
बुधबार दिनभर तनावग्रस्त बनेको सिमरा विमानस्थलमा आज बिहानदेखि उडान सामान्य रूपमा सञ्चालन भएको विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले बताए।
बुधबार एमाले नेता महेश बस्नेत सिमरा आउँदैछन् भन्ने खबरपछि आन्दोलनकारीले विमानस्थल घेराउ गर्दै गेटसम्म तोडफोड गरेका थिए।
तर परिस्थितिलाई स्थिर बनाउन सुरक्षा संयोजन कडा पारिएको र आवश्यक सुरक्षा सुनिश्चित भएपछि उडान सञ्चालन गरिएको अधिकारीले जानकारी दिए।
मानवअधिकार आयोगको निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गर्दै शान्ति–सुरक्षा बलियो बनाउने, घाइतेको उपचार सुनिश्चित गर्ने तथा अभिव्यक्ति तथा प्रदर्शन स्वतन्त्रताको सम्मान हुने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ।
कर्फ्यु पुनः जारी, विद्यालय बन्द
जिल्ला प्रशासन कार्यालय बाराले विमानस्थल तथा आसपासका क्षेत्रमा बिहीबार दिउँसो १ बजेबाट बेलुका ८ बजेसम्म कर्फ्यु पुनः जारी गरेको छ। सुरक्षा संवेदनशीलता र सम्भावित क्षति रोक्न सो कदम चालिएको बताइएको छ।
जेनजी आन्दोलन र झडपका कारण सिमरा तथा वरपरका सामुदायिक तथा संस्थागत विद्यालय बिहीबार बन्द रहे। अश्रुग्यासका कारण केही विद्यार्थी प्रभावित भएको विद्यालयहरूले जनाएका छन्।
राजनीतिक तनाव र जोखिमपूर्ण वातावरण
बुधबारको घटनाले स्थानीय मात्र होइन, केन्द्रीय राजनीतिमा पनि तरंग पारेको छ। विमानस्थल क्षेत्रमा कर्फ्यु, अश्रुग्यास, झडप र तोडफोडले लोकतान्त्रिक अधिकारको प्रयोगमा समेत चुनौती देखिएको विश्लेषकहरूको भनाइ छ।
शान्तिपूर्ण प्रदर्शन र राजनीतिक कार्यक्रममा अवरोध भएपछि वातावरण अझै तनावपूर्ण बनेको छ।





प्रतिकृया दिनुहोस्