सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुकमा निर्वाचनको वातावरण बनिसकेको बताएका छन्। सबै राजनीतिक दल चुनावतर्फ केन्द्रित भएकाले अब निर्वाचनबारे कुनै द्विविधा नराख्नुपर्ने उनको भनाइ छ।
आइतबार नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले समयमै निर्वाचन हुनु देशको स्थायित्वका लागि अपरिहार्य रहेको बताए। “मुलुक परिवर्तनको मोडमा छ, जेनजीको भावनाअनुसार नयाँ ऊर्जा र सोचसहित अघि बढ्नुपर्छ,” उनले भने।
उनले नेताको दास नभई विचार र नीतिका आधारमा नेतृत्व चयन गर्न नागरिकलाई आग्रह गरे। नयाँ र पुराना दलहरू चुनावी गठबन्धनतर्फ उन्मुख भएकाले देश स्पष्ट रूपमा निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको खरेलको भनाइ छ।
कार्यक्रममा मन्त्री खरेलले टेलिकम क्षेत्रमा नीतिगत सुधार आवश्यक रहेको उल्लेख गर्दै संस्थालाई अझ व्यावसायिक, प्रतिस्पर्धी र समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए। कर्मचारीको वृत्ति विकास र सेवा प्रवाह प्रभावकारी बनाउँदै टेलिकमको गरिमा उँचो बनाउने गरी काम गर्न निर्देशन दिए।





प्रतिकृया दिनुहोस्