काठमाडौं ।
..अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा पहिलोपटक तीन मुख्य दलका शीर्ष नेताहरूसँग छलफल गरेकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीतलनिवासमा हुँदै आएको संवादको निरन्तरता स्वरूप बालुवाटारमा बैठक बसेको हो।
बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन हुने वातावरण बनेको दाबी गरेका छन्। “अब चुनाव हुन्छ भन्नेमा स्पष्टता आएको छ,” उनले भने।
छलफलमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको मितिमै चुनाव गराउने प्रतिबद्धता जनाएका छन्। देउवाले कांग्रेसको प्राथमिकता अब संसद् पुनर्स्थापना नभई चुनाव रहेको बताएका छन् भने प्रचण्डले सरकारले विशेष परिस्थितिमा काम गरिरहेको भन्दै प्रशंसा गरेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने चुनावको विपक्षमा नरहे पनि सुरक्षा अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेका थिए। बैठकमा ओलीका सुरक्षा सम्बन्धी प्रश्नको जवाफ देउवा र प्रचण्डले पटक–पटक दिएका थिए।
बैठकमा देउवाले समानुपातिक बन्दसूची बुझाउने समय पाँच दिन थप्न प्रस्ताव राखेका थिए, जसमा ओली र प्रचण्ड सहमत देखिए। तर प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको कार्यतालिका नमिल्ने भन्दै समयमै सूची बुझाएर पछि संशोधन गर्न सुझाव दिइन्।
देउवाले हिमाली तथा उच्च पहाडी जिल्लामा मौसमका कारण समस्या हुन सक्ने भन्दै केही स्थानमा मिति हेरफेरको विकल्प पनि उठाए। त्यसपछि प्रधानमन्त्री कार्कीले औपचारिक रूपमा सबै दललाई निर्वाचन सफल बनाउन आग्रह गर्दै सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको जानकारी गराइन्।
सुरक्षा विषयमा देउवाले सेना परिचालन गरेर भए पनि चुनाव गराउनुपर्ने बताए भने ओलीले मुख्य भूमिका प्रहरीको हुने भन्दै असहमति जनाए। ओलीले वर्तमान सरकारको वैधानिकता, जेनजी आन्दोलनसँग भएको सम्झौता र सुरक्षा घटनालाई लिएर आलोचना गरे।
ओलीको आलोचनापछि देउवाले हस्तक्षेप गर्दै चुनाव केन्द्रित हुन आग्रह गरे भने प्रचण्डले पनि शीतलनिवासमै यी विषय उठिसकेको भन्दै बहस टुंग्याउन खोजेका थिए।
छलफलको निष्कर्षमा तीनै दल चुनावी प्रक्रियामा जाने सहमत देखिएका छन्, यद्यपि सुरक्षा र व्यवस्थापनका विषयमा एमालेका केही असन्तुष्टि यथावत छन्।





प्रतिकृया दिनुहोस्