काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले भावी नेपाललाई केवल सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डाले मात्र अघि बढाउन नसकिने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच एकै पार्टीमा रहनेसम्बन्धी सात बुँदे सहमति भएपछि आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै मिश्रले बदलिँदो भूराजनीतिक अवस्था र नेपालको आन्तरिक परिवेशले नयाँ राजनीतिक सोचको आवश्यकता औँल्याएका हुन्।
उनले प्रजातान्त्रिक व्यवस्थाभित्र संवैधानिक राजसंस्थालाई स्थान नदिने हो भने राष्ट्रिय संकटका बेला अभिभावकत्व ग्रहण गर्ने संस्थागत विकल्प कमजोर हुँदै जाने दाबी गरेका छन्।
‘भावी नेपाललाई अब केवल सुशासन र भ्रष्टाचार नियन्त्रणको एजेन्डाले मात्र थेग्न सक्दैन,’ मिश्रले लेखेका छन्, ‘प्रजातन्त्रभित्र संवैधानिक राजसंस्थाको जगेर्ना नगर्ने हो भने हाम्रा आशा र उत्साह पुनः धुमिल हुनेछन्।’
मिश्रले रूपान्तरणको एजेन्डासँगै राजसंस्थाको मुद्दा पनि समेट्न सके आगामी केही दशक रवि लामिछाने र बालेन शाहकै दशक हुन सक्ने दाबी गरेका छन्। त्यसो हुन सके नेपालको ऐतिहासिक रूपान्तरण सम्भव हुने उनको भनाइ छ।





प्रतिकृया दिनुहोस्