काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा उज्यालो नेपालका १४ जनाले स्थान पाएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ। उम्मेदवार छनोट प्रक्रियामा पार्टी संरक्षक तथा उर्जामन्त्री कुलमान घिसिङको एकल तजबिज हावी भएको आरोप नेताहरूले लगाएका छन्।
उज्यालो नेपालले सुरुमा १८ जनाको नाम रास्वपालाई सिफारिस गरेको थियो। तीमध्ये चार जनाको नाम हटाएर १४ जनालाई अन्तिम बन्दसूचीमा राखिएको स्रोतको दाबी छ। हटाइएका नामहरूमा ल्हाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमारराज सुवेदी र राजदेव राम रहेका छन्।
बन्दसूचीमा समावेश १४ जनामध्ये केही उम्मेदवार आफ्नो-आफ्नो क्लस्टरमा अगाडि रहेकाले सांसद बन्ने सम्भावना बलियो देखिएको छ। आदिवासी जनजाति पुरुषतर्फ डा. राम लामा पहिलो नम्बरमा छन् भने दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा परेकी छन्। पार्टीका एक केन्द्रीय सदस्यका अनुसार थप ४–५ जनाले पनि समानुपातिक सांसद बन्ने सम्भावना छ।
तर सूचीमा परेका केही उम्मेदवार कुलमान घिसिङका आफन्त र निकटस्थ व्यक्ति भएको आरोपले विवाद थप चर्किएको छ। आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा रहेका डा. राम लामा कुलमानका भान्जा हुन्। उनी ऊर्जा व्यवसायी तथा मेकानिकल इन्जिनियरिङमा पीएचडी गरेका व्यक्ति भए पनि राजनीतिक पृष्ठभूमि नरहेको बताइन्छ। उनी उज्यालो नेपालले सिफारिस नगरी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पहलमा सूचीमा परेको स्रोतको भनाइ छ।
त्यस्तै, सोही क्लस्टरमा आठौं नम्बरमा रहेका धर्मलाल तामाङ कुलमानका भाइका ससुरा भएको जनाइएको छ। उनी हालै एमाले छोडेर उज्यालो नेपालमा प्रवेश गरेका थिए। आदिवासी जनजाति महिला क्लस्टरमा अन्तिमतिर रहेकी तुलसा वाइवा उज्यालो नेपालकी कार्यसचिवकी पत्नी रहेको र उनी पनि कुलमानसँग नाताले जोडिन सक्ने चर्चा छ।
खस आर्य क्लस्टरमा १०औं नम्बरमा रहेका दुर्गाबहादुर सुवेदी कुलमानका बाल्यकालदेखिका साथी तथा पूर्व छिमेकी भएको स्रोतले जनाएको छ। उनी नेकपा (एकीकृत समाजवादी) छोडेर उज्यालो नेपालमा आएका हुन्।
सूचीमा परेका कतिपय उम्मेदवारलाई पार्टीकै केन्द्रीय नेताहरूले नचिनेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। एक केन्द्रीय सदस्यले भने, “५–६ जनाबाहेक अरूको नामसमेत मैले पहिले सुनेको थिइनँ।” पार्टीभित्र छलफल नगरी कुलमानले एकलौटी रूपमा नाम सिफारिस गरेको आरोप पनि उनीहरूले लगाएका छन्।
सूचीमा उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय पनि समेटिएका छन्। तर उनी खस आर्यतर्फ छैटौं नम्बरमा रहेकाले सांसद बन्ने सम्भावना कमजोर देखिन्छ। यता, आदिवासी जनजाति पुरुषतर्फ सिफारिसमा परेका डा. महेन्द्र लावतीले भने आफू पछाडि पारिएको भन्दै सार्वजनिक असन्तुष्टि व्यक्त गरिसकेका छन्।
उज्यालो नेपालकै कोटाबाट आदिवासी जनजाति महिलातर्फ गायिका त्रिशला गुरुङ पाँचौं नम्बरमा छिन् भने माया डोल्मा लामा पनि सोही क्लस्टरमा परेकी छन्। खस आर्य महिलातर्फ सितादेवी पाण्डे र सरला लामिछाने समेटिएका छन्। थारु पुरुषतर्फ सोमप्रसाद चौधरी दोस्रो र थारु महिलातर्फ बालिका चौधरी चौथो नम्बरमा रहेकी छन्।
समानुपातिक बन्दसूची सार्वजनिक भएसँगै रास्वपाभित्र पारदर्शिता र आन्तरिक लोकतन्त्रबारे प्रश्न उठिरहेका छन् भने उज्यालो नेपालसँगको सहकार्य र कुलमान घिसिङको भूमिकालाई लिएर बहस थप चर्किने संकेत देखिएको छ।






प्रतिकृया दिनुहोस्