काठमाडौँ ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका विवाद अन्त्य गर्दै एकताबद्ध भएर आगामी निर्वाचनमा होमिनुपर्ने बताएका छन्।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सन्देश जारी गर्दै उनले भावी पुस्तालाई समृद्ध नेपाल हस्तान्तरण गर्न सबै प्रकारका मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षा त्याग्न आवश्यक रहेको उल्लेख गरेका हुन्।
नेता कोइरालाले लोकतन्त्रको रक्षाका लागि अहिलेको समय निर्णायक भएको बताउँदै भनेका छन्, “जसरी बीपी कोइरालाले व्यक्तिगत जोखिमको पर्वाह नगरी राष्ट्र र लोकतन्त्रका लागि ऐतिहासिक निर्णय गर्दै प्रवासबाट स्वदेश फर्कनुभयो, आज पनि हामीले त्यही साहस र त्यागको बाटो अपनाउनुपर्छ।”
उनले पार्टीभित्रका अप्रिय विवाद र व्यक्तिगत स्वार्थलाई पन्छाएर राष्ट्रिय हितलाई केन्द्रमा राख्दै निर्वाचनमा जानु नै एकमात्र विकल्प भएको बताए। लोकतन्त्रको सुदृढीकरण र राजनीतिक स्थायित्वका लागि कांग्रेस मात्र होइन, सम्पूर्ण नेपालीहरू सचेत र एकजुट हुनुपर्नेमा उनले जोड दिए।
पाँच दशकपछि फेरि बीपीको विचार, आदर्श र नीतिलाई मन, वचन र कर्मले आत्मसात् गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै कोइरालाले वर्तमान चुनौतीको सामना गर्न सामूहिक प्रयास अपरिहार्य रहेको बताएका छन्।





प्रतिकृया दिनुहोस्