काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र देखिएका विवाद, समानुपातिक उम्मेदवार छनोट, बालेन शाहसँगको सहकार्य र आगामी निर्वाचन रणनीतिबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्। पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीभित्रका आलोचनालाई लोकतन्त्रको स्वस्थ अभ्यासको रूपमा लिँदै विधिविपरीत परेका उम्मेदवारका नाम काटिने बताएका हुन्।
समानुपातिक उम्मेदवार छनोटमा प्राइमरी इलेक्सनको मर्ममाथि उठेका प्रश्न स्वीकार गर्दै रविले प्रक्रिया सुधार्ने प्रतिबद्धता जनाए। “विधिभन्दा बाहिर परेका, पर्न नहुने नाम परेका छन् भने काटिन्छन्,” उनले भने।
रवि–बालेन सहकार्य र कुलमान घिसिङसँग भएको सातबुँदे सहमतिले राष्ट्रिय राजनीतिमा तरंग ल्याएको बताउँदै उनले मेयर बालेन शाहको उदयलाई युवामा राजनीतिक चेतनाको सुरुआतको रूपमा व्याख्या गरे। उनका अनुसार भावी प्रधानमन्त्रीको सम्भावित पात्रका रूपमा बालेनलाई अघि सारिएको हो।
आगामी निर्वाचनबारे बोल्दै रविले रास्वपा कुनै पनि चुनावी गठबन्धन नगर्ने र आफ्नै चुनाव चिन्ह ‘घन्टी’ लिएर मैदानमा उत्रने स्पष्ट गरे। उनले चितवन–२ बाट उम्मेदवार बन्ने संकेत पनि गरे।
संविधान, लोकतन्त्र, गणतन्त्र र संघीयताबारे पार्टीको धारणा अस्पष्ट भएको आरोप खण्डन गर्दै उनले नीति–दस्तावेजमै यी विषय स्पष्ट रहेको दाबी गरे। नागरिकको विवेक र भरोसामा विश्वास व्यक्त गर्दै रविले आगामी निर्वाचनमा रास्वपाले उल्लेखनीय जनसमर्थन पाउने अपेक्षा गरेको बताए।





प्रतिकृया दिनुहोस्