काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह ललितपुरको ज्वागलस्थित देश विकास पार्टीको कार्यालयबाट राजनीतिक गतिविधि गरिरहेका छन्। स्रोतका अनुसार बालेनले रास्वपासँगको एकता प्रक्रिया टुंग्याउन आफ्नो तर्फबाट आवश्यक तयारी अघि बढाइरहेका हुन्।
समानुपातिक उम्मेदवार सूची विवादपछि असन्तुष्ट बनेका जेन–जी समूहका नेताहरूसँग बालेनले निरन्तर भेटघाट गरिरहेका छन्। सूचीमा आफूले सिफारिस गरेका नाम छुटाइएपछि रुष्ट बनेका युवाका माग सम्बोधन गर्न उनले छलफललाई तीव्र बनाएको बालेननिकट स्रोतले जनाएको छ।
महानगरको कार्यालय समयमा महानगरकै काममा व्यस्त रहने बालेन त्यसपछि ज्वागलस्थित कार्यालय पुग्ने गरेका छन्। उम्मेदवार छनोट, निर्वाचन रणनीति र चुनावी तयारीका कामहरू पनि त्यहीँबाट भइरहेका छन्।
यद्यपि बालेनको सचिवालय भने रास्वपाको पार्टी कार्यालयबाटै सक्रिय रहेको स्रोतको भनाइ छ। आवश्यक परे रास्वपाका नेताहरू नै ज्वागल पुगेर बालेनसँग छलफल गर्ने गरेका छन्।
पछिल्लो समय कलाकार, अभियन्ता तथा चुनावी टिकटको लबिङ गर्नेहरूको पनि ज्वागलमा बाक्लो आवतजावत देखिएको छ। बालेन भने बढी बोल्नेभन्दा पनि भेट्न आउनेहरूको कुरा सुन्ने र चुनावको तयारीमा सबै लाग्नुपर्ने सन्देश दिने गरेको बताइन्छ।





प्रतिकृया दिनुहोस्