काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी विधानअनुसार पुस मसान्तभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने स्पष्ट पारेका छन्। केन्द्रीय कार्यसमितिले निर्णय नगरे विधानले दिएको अधिकार प्रयोग गर्दै केन्द्रीय कार्यालय (महामन्त्री कार्यालय) मार्फत विशेष महाधिवेशन आयोजना गरिने चेतावनीसमेत उनले दिएका छन्।
केन्द्रीय कार्यसमिति बैठकपछि धारणा सार्वजनिक गर्दै थापाले कार्यवाहक सभापतिले विधानको धारा ४३ प्रयोग गरी केन्द्रीय समितिको कार्यावधि थप्दै वैशाखमा महाधिवेशन गर्ने प्रस्ताव ल्याएको बताए। तर, विधानको धारा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको लिखित माग परेपछि तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने अनिवार्य व्यवस्था रहेको उनको भनाइ छ।
“एउटा धारा अनुकूल हुँदा लागू गर्ने र अर्को प्रतिकूल हुँदा नमान्ने प्रवृत्ति स्वीकार्य हुँदैन,” थापाले भने, “पुस २८–२९ विशेष महाधिवेशन बोलाउने समयसीमाको अन्तिम दिन हो।”
उनका अनुसार यसअघि केन्द्रीय कार्यसमितिले पुस मसान्तभित्र आवधिक अधिवेशन गर्ने आश्वासन दिएकाले विशेष महाधिवेशनको विषय अघि नबढेको हो। तर, अब पुसभित्र आवधिक अधिवेशन नहुने निर्णय भइसकेपछि विशेष महाधिवेशन बोलाउनु वैधानिक दायित्व भएको उनले बताए।
थापाले पार्टी नफुट्ने स्पष्ट पार्दै विधानको पालना गर्दा पार्टी कमजोर नभई अझ सुदृढ हुने दाबी गरे। “विधान कार्यान्वयन गर्दा पार्टी फुट्छ भन्ने तर्क निराधार हो,” उनले भने।
क्रियाशील सदस्यताको विषयमा पनि भ्रम फैलाइएको भन्दै थापाले अहिलेको व्यवस्था तलबाट सुरु हुने र डिजिटल प्रणालीमार्फत पारदर्शी बनाइएको स्पष्ट पारे। अधिवेशन ढिलाइको दोष प्रविधि वा सदस्यतामा थोपर्न नमिल्ने उनको भनाइ छ।
अन्त्यमा उनले पुस मसान्तमा काठमाडौँमा हुने विशेष महाधिवेशनका लागि तयारी गर्न देशभरका महाधिवेशन प्रतिनिधिलाई आग्रह गरेका छन्। “विशेष महाधिवेशन केन्द्रीय कार्यसमितिले बोलाओस् या केन्द्रबाट आयोजना होस्, पुस मसान्तभित्र महाधिवेशन हुन्छ,” थापाले स्पष्ट पारे।





प्रतिकृया दिनुहोस्