काठमाडौँ ।
जेनजी आन्दोलनसम्बन्धी घटनामा छानबिन भइरहेको क्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाइएको छ। उच्चस्तरीय जाँचबुझ आयोगले ओलीसँग आवश्यक सोधपुछ र कागजात बुझ्ने प्रक्रिया पूरा भएपछि प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार आन्दोलनका बेला प्रधानमन्त्रीको हैसियतमा भएका निर्णय र भूमिकाबारे आयोगले पर्याप्त जानकारी संकलन गरिसकेको निष्कर्षसहित स्थान हदको आवश्यकता नरहेको ठहर गरिएको हो। यसअघि ओलीलाई विदेश भ्रमण तथा उपत्यका बाहिर जान रोक लगाइएको थियो।
आइतबार ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा बयान दिएका थिए भने सोही दिन जाँचबुझ आयोगलाई लिखित धारणा समेत बुझाएका थिए। आयोगले यसअघि तत्कालीन मन्त्री, सुरक्षा निकायका उच्च अधिकारी तथा प्रशासनिक प्रमुखहरूसँग पनि बयान लिइसकेको जनाएको छ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले घटनासम्बन्धी अध्ययन अन्तिम चरणमा पुगेको संकेत गरेको छ।





प्रतिकृया दिनुहोस्