काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व तथा थरुहट/थारुवान अभियन्ताहरूसँग बृहत् राजनीतिक समायोजन गर्दै वैकल्पिक राजनीतिलाई थप संगठित बनाउने संकेत दिएको छ। सोमबार राष्ट्रियसभा गृहमा आयोजित समायोजन सभामा ठूलो संख्यामा नेता–कार्यकर्ताको उपस्थिति देखियो।
सभागृह खचाखच भरिँदा भित्र अटाउन नसकेका कार्यकर्ता बाहिर चौरमा समेत जम्मा भएका थिए। कार्यक्रममा थारु समुदायको सांस्कृतिक पहिचान झल्किने पोसाक, नाचगान र गीत–संगीतले राजनीतिक कार्यक्रमलाई उत्सवमय बनाएको थियो। पश्चिम नेपालका लोकधुनदेखि थारुवान क्षेत्रको सांस्कृतिक प्रस्तुति सभागृहभरि गुञ्जिएको थियो।
समायोजन सभामा सहभागी नेताहरूले आगामी प्रतिनिधिसभा निर्वाचनलाई वैकल्पिक राजनीतिक शक्तिका लागि निर्णायक मोडका रूपमा चित्रित गरे। दाङ–२ बाट चुनाव लड्ने तयारीमा रहेका विशाल अधिकारीले जेनजी आन्दोलनपछि बनेको राजनीतिक वातावरणले नयाँ शक्तिहरूलाई थप आत्मविश्वास दिएको बताए। उनका अनुसार युवाहरूमा पुराना दलप्रति निराशा बढ्दै गएको र नयाँ विकल्पप्रति आकर्षण तीव्र बनेको छ।

‘अबको निर्वाचन केवल सिटको लडाइँ होइन, विचार र एजेन्डाको टक्कर हो,’ अधिकारीले भने, ‘देशका दीर्घकालीन समस्या समाधान गर्न सक्ने संसद् बनाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा आएको छ।’
सभामा युवा नेताहरूको सक्रिय उपस्थिति पनि उल्लेखनीय देखियो। रास्वपाका सहप्रवक्ता प्रस्तावित सस्मित पोखरेलले वैकल्पिक राजनीतिको यो यात्रा एक–दुई वर्षमा बनेको नभई दशकौँको राजनीतिक चेतनाको परिणाम भएको बताए। उनका अनुसार रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङजस्ता व्यक्तित्वले युवामा राजनीतिप्रति पुनः आशा जगाएका छन्।
कार्यक्रममा थारु समुदायका युवाहरूले पनि रास्वपाप्रति भरोसा व्यक्त गरे। उनीहरूले अनौपचारिक संवादमा पुराना दलले जनअपेक्षा पूरा गर्न नसकेको भन्दै अबको चुनावमा नयाँ शक्तिलाई जिताउनुपर्ने धारणा राखे।
समायोजन सभामा रास्वपा सभापति रवि लामिछाने भने केही ढिलोगरी पुगेका थिए। उनको आगमनपछि मात्रै कार्यक्रम औपचारिक रूपमा सुरु भयो। सम्बोधनका क्रममा लामिछानेले पार्टीप्रतिको उत्साह देखेर आफू आशावादी बनेको बताए। उनले उपसभापति डा. स्वर्णिम वाग्लेलाई आगामी बजेटको तयारी गर्न आग्रह गर्दै रास्वपाले सरकारको नेतृत्व गर्ने आत्मविश्वास प्रकट गरे।
यही सभामार्फत रास्वपा, नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व र थरुहट/थारुवान अभियन्ताबीच ९ बुँदे समायोजन सहमति भएको छ। सहमतिअनुसार दलको नाम, झन्डा र चुनाव चिह्न रास्वपाकै रहनेछ। साथै, थारु समुदायको धार्मिक–सांस्कृतिक पहिचान संरक्षण गर्न थारु बहुल क्षेत्रलाई ‘विशेष संरक्षित क्षेत्र’ घोषणा गर्ने कानुनी प्रक्रिया अघि बढाउने समझदारी गरिएको छ।
समग्रमा, समायोजन सभाले रास्वपालाई वैकल्पिक राजनीतिक शक्तिको केन्द्रमा उभ्याउँदै आगामी निर्वाचनमा नयाँ राजनीतिक ध्रुवीकरणको संकेत दिएको छ।





प्रतिकृया दिनुहोस्