काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति बन्ने आकांक्षाका कारण आफूहरूले विशेष महाधिवेशनको माग गरेको भन्ने आरोप अस्वीकार गरेका छन्। उनले पार्टीभित्र देखिएको असन्तुष्टि पदको लडाइँका लागि नभई संगठन सुधारका लागि भएको स्पष्ट पारे।
बुधबार बुद्धिजीवीहरूसँगको छलफलमा बोल्दै थापाले केही नेताहरूले आफू सभापति बन्न खोजेको आरोप लगाइरहेको उल्लेख गर्दै भने, “हामीलाई सभापति बन्नु छैन। जसलाई बन्न मन छ, उहाँहरू नै बन्नुहोस्। तर पार्टीलाई सही दिशामा उभ्याउनु सबैको साझा जिम्मेवारी हो।”
उनले डा. शेखर कोइराला लगायत जुनसुकै नेता सभापति बन्न सक्ने बताए पनि नेतृत्व परिवर्तनभन्दा बढी कांग्रेसको विश्वसनीयता पुनःस्थापना अहिलेको मुख्य चुनौती भएको धारणा राखे।
महामन्त्री थापाले पार्टीभित्र मौलाउँदै गएको कारोबारी राजनीतिलाई अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए। उनले कांग्रेसले पछिल्लो समय लिएको बाटोप्रति जनतामा असन्तोष रहेको स्वीकार गर्दै त्यसको कारण पहिचान गरेर अघि बढ्नुपर्ने बताए।
“२३ र २४ गतेअघि हामी सही ठाउँमा थिएनौँ, हाम्रो गति र सोच दुवै नागरिकको अपेक्षाअनुसार थिएन,” थापाले भने, “जनताको असन्तोषका कारणहरू बुझेर पार्टीका कार्यक्रमहरू सुधार्नुपर्छ।”
उनका अनुसार कांग्रेसलाई केवल ठूलो पार्टी बनाइराख्ने होइन, संस्थागत रूपमा बलियो बनाउँदै परिवर्तनको एजेन्डालाई जोगाएर अघि बढ्नु नै आफ्नो समूहको उद्देश्य हो।





प्रतिकृया दिनुहोस्