काठमाडौं ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आयोजक समितिले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमा सहभागी हुन औपचारिक निम्तो दिएको छ। आयोजक समितिले देउवालाई प्रमुख अतिथिका रूपमा समारोहको उद्घाटन गर्न आग्रह गरेको हो।
आयोजक समितिको व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले हस्ताक्षर गरेको आमन्त्रणपत्र सभापति देउवालाई बुझाइएको छ। पत्रमार्फत बदलिँदो राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसलाई नयाँ दिशातर्फ अघि बढाउन विशेष महाधिवेशन आवश्यक रहेको उल्लेख गरिएको छ।
पत्रमा कांग्रेसलाई नयाँ ऊर्जा, एकता र रूपान्तरणसहित अघि बढाउने उद्देश्यले लोकतान्त्रिक इतिहास, मूल्य र परम्परासँग जोडिएको दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजना गर्न लागिएको जनाइएको छ। साथै ‘बदलिएको समयको कांग्रेस, बदल्नुपर्ने देश’ भन्ने मूल भावका साथ महाधिवेशन आयोजना हुन लागेको उल्लेख गरिएको छ।
आयोजक समितिले निर्धारित मिति, स्थान र समयमा हुने उद्घाटन समारोहमा देउवालाई गरिमामय प्रमुख अतिथिका रूपमा उपस्थित भइ महाधिवेशनको उद्घाटन गरिदिन हार्दिक अनुरोध गरेको छ।
कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर मतभेद चर्किरहेका बेला सभापति देउवालाई औपचारिक रूपमा आमन्त्रण गरिनुले पार्टीभित्रको आन्तरिक राजनीतिक गतिविधि थप चासोको विषय बनेको छ।





प्रतिकृया दिनुहोस्