काठमाडौँ ।
पूर्व डीआईजी रमेश खरेलले नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो राजनीतिक घटनाक्रमप्रति तीव्र असन्तोष व्यक्त गरेका छन्। विशेष महाधिवेशन चलिरहेका बेला सभापति शेरबहादुर देउवा समूहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गरेको विषयलाई उनले लोकतान्त्रिक मूल्यविपरीतको कदम बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै खरेलले बहुमतको आह्वानमा भइरहेको विशेष महाधिवेशनको म्यान्डेटलाई बेवास्ता गर्नु लोकतन्त्रको अपमान भएको टिप्पणी गरेका छन्। बहुमतको सम्मान गर्न नसक्ने समूहलाई लोकतन्त्रवादी भन्न नसकिने उनको भनाइ छ।
खरेलले शेरबहादुर देउवाले जेनजी आन्दोलनपछिको बदलिँदो सामाजिक–राजनीतिक चेतनालाई बुझ्न नसक्दा कांग्रेस पार्टी गम्भीर संकटतर्फ धकेलिएको आरोप लगाए। ८० वर्ष नाघ्दा पनि नेतृत्व मोह नछोड्दा कांग्रेस विभाजनको अवस्थामा पुगेको र त्यसको सम्पूर्ण जिम्मेवारी देउवा समूहले लिनुपर्ने उनको दाबी छ।
उनका अनुसार कांग्रेसमा नेतृत्व परिवर्तनको माग अब कार्यकर्ताको मात्र नभएर सिङ्गो देशको आवश्यकता बनिसकेको छ। पुराना दलहरूप्रति जनविश्वास कमजोर भइरहेको सन्दर्भमा विशेष महाधिवेशनले कांग्रेसलाई पुनर्जीवित गर्ने अवसर दिएको खरेलको विश्लेषण छ।
विशेष महाधिवेशन सुरु भइसकेपछि वैधानिकता गुमाइसकेको केन्द्रीय कार्यसमितिले गगन थापा र विश्वप्रकाश शर्मामाथि कारबाही गर्नु ‘निर्लज्जताको पराकाष्ठा’ भएको उनको टिप्पणी छ। उनले यस्तो कदम चाल्नेहरूलाई लोकतन्त्रका कलङ्कको संज्ञा दिँदै समाजको गति बुझ्न नसक्नेहरूले ठूलो राजनीतिक दल कसरी सञ्चालन गरिरहेका थिए भन्ने प्रश्न उठाएका छन्।
खरेलले अन्त्यमा गगन थापा र विश्वप्रकाश शर्मालाई शुभकामना दिँदै अबको नेपाली कांग्रेस नयाँ पुस्ताको नेतृत्वमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। सबल कांग्रेस नै सबल लोकतन्त्रको आधार भएको उल्लेख गर्दै विशेष महाधिवेशनमा सहभागी सबैलाई उनले बधाई दिएका छन्।





प्रतिकृया दिनुहोस्