काठमाडौं ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ। प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो।
निर्वाचन आयोगको कार्यतालिका अनुसार माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन हुनुपर्ने भएकाले एमालेले समयमै उम्मेदवार छनोट गर्न सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिहरूले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। ती सिफारिसका आधारमा अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अघि बढाइएको छ।
हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नसहित आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ। यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको सम्पूर्ण जिम्मेवारी सचिवालयलाई दिएको थियो।
प्रतिनिधिसभा निर्वाचनको मतदान आगामी फागुन २१ गते हुने कार्यतालिका छ।





प्रतिकृया दिनुहोस्