काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वलाई वैधानिकता दिएको छ। आयोगको यो निर्णयसँगै शेरबहादुर देउवाको सभापतिका रूपमा रहेको प्राधिकार औपचारिक रूपमा समाप्त भएको छ।
आयोगले विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई अब पार्टीको आधिकारिक संरचना मानेको छ। यससँगै १४औँ महाधिवेशनबाट बनेको पुरानो केन्द्रीय समिति अमान्य भएको ठहर गरिएको छ।
आयोगको निर्णयमा पार्टी विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न सक्ने व्यवस्था, प्रतिनिधिहरूको सर्वोच्चता र विशेष महाधिवेशनका निर्णयहरू नियमित महाधिवेशनसरह वैधानिक हुने आधारलाई मुख्य मापदण्ड बनाइएको बताइएको छ।
निर्णयपछि गगन थापा पक्षले खुसी व्यक्त गरेको छ भने देउवा समूहले आयोगको कदमलाई षड्यन्त्रपूर्ण भन्दै असन्तुष्टि जनाएको छ। आयोग परिसरमा पुगेका नेता पूर्णबहादुर खड्काले कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने चेतावनी दिएका छन्। उनका अनुसार पार्टीको केन्द्रीय समिति बैठक बसेर आगामी रणनीति तय गरिनेछ।
संविधानविद्हरूका अनुसार अब देउवा समूहका लागि तीन प्रमुख विकल्प देखिन्छन्। पहिलो, गगन थापाको नेतृत्वमा बनेको कार्यसमितिलाई स्वीकार गरेर पार्टीभित्रै सहकार्य गर्दै अघि बढ्ने। दोस्रो, आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्ने। तेस्रो, वर्तमान नेतृत्वसँग अलग भएर नयाँ दल गठन गर्ने।
तर कानुनी बाटो अपनाउँदा निर्वाचनको मनोनयन प्रक्रिया प्रभावित हुन सक्ने र नयाँ दल गठन गरे यसै चुनावमा सहभागी हुन कठिन हुने उनीहरूको विश्लेषण छ।
यता सभापति गगन थापाले पार्टीभित्र गुट अन्त्य गरेर सबैलाई समेट्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।





प्रतिकृया दिनुहोस्