काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र गुटगत राजनीति समाप्त भएको घोषणा गर्दै अब कुनै प्रकारको भागबण्डा नहुने स्पष्ट पारेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित आफू नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिकता दिएपछि सार्वजनिक अपीलमार्फत उनले यो धारणा राखेका हुन्।
सभापति थापाले पार्टीका भुईँ तहका कार्यकर्ता र शीर्ष नेतृत्वबीच समान हैसियत रहने उल्लेख गर्दै निर्णय प्रक्रियामा आम सदस्यको चाहनालाई प्राथमिकता दिइने बताए। उनले निर्वाचन आयोगको निर्णयले विधि, विधान र लोकतान्त्रिक पद्धतिको सम्मान स्थापित गरेको भन्दै आयोगप्रति आभार व्यक्त गरे।
‘पार्टी अब नेताको इच्छाले मात्र होइन, कार्यकर्ताको विश्वास र चाहनाले अघि बढ्छ,’ थापाले भने, ‘कांग्रेस आफ्ना मूल मूल्य, आदर्श र लोकतान्त्रिक चरित्रतर्फ फर्किएको छ।’
विशेष महाधिवेशनलाई जित–हारको विषय नबनाउन आग्रह गर्दै उनले संयम, जिम्मेवारी र एकताको आवश्यकता औँल्याए। पार्टी नयाँ ऊर्जा र सुधारको यात्रामा प्रवेश गरेको दाबी गर्दै उनले आन्तरिक रुपान्तरणलाई प्राथमिकतामा राख्ने बताए।
पूर्व सभापति शेरबहादुर देउवालगायत सबै तहका नेताहरूले यो प्रक्रियालाई सहज रूपमा स्वीकार गर्ने विश्वास व्यक्त गर्दै थापाले विगतका कमजोरीप्रति आत्मआलोचना गरिएको र उपलब्धिहरूलाई समयअनुसार संस्थागत गर्ने संकल्प गरिएको उल्लेख गरे।
चुनावी रणनीतिबारे उनले कांग्रेसले अब कुनै पनि अप्राकृतिक गठबन्धन नगर्ने स्पष्ट पारे। उनका अनुसार चुनावी तालमेलको संस्कृतिको अन्त्य गर्दै पार्टी आफ्नै सिद्धान्त र जनविश्वासको आधारमा चुनावी मैदानमा उत्रिनेछ।





प्रतिकृया दिनुहोस्