काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले काठमाडौं उपत्यकाभित्रका प्रतिनिधिसभा उम्मेदवारहरूसँग चुनावी रणनीतिबारे छलफल गरेका छन्। आफ्नै निर्वाचन क्षेत्रको कार्यक्रम सकेर राजधानी फर्किएका शाहले उम्मेदवारहरूबाट हालसम्मको अभियानको अवस्था बुझेका हुन्।
भेटमा बालेनले उम्मेदवारहरूलाई निर्वाचन अभियानका विषयमा संक्षिप्त विवरण लिनुका साथै आगामी रणनीतिबारे सुझाव दिएका सहभागी नेताहरूले बताएका छन्। ललितपुर–३ की उम्मेदवार तोसिमा कार्कीका अनुसार शाहले अभियानको प्रगति बुझ्दै आत्मविश्वासका साथ जनतामाझ जान आग्रह गरेका थिए।
“हामीलाई ढुक्क भएर घर–घरमा पुग्नुस्, जनताका समस्या सुन्नुस् भनेर उहाँले भन्नुभयो,” कार्कीले भनिन्, “चुनावी रणनीतिबारे पनि सामान्य छलफल भयो।”
रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले पनि भेटमा आगामी दिनमा कसरी अभियानलाई प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी भएको जानकारी दिइन्। उनका अनुसार शाहले उम्मेदवारहरूलाई निरन्तर सक्रिय रहन र मतदातासँग प्रत्यक्ष संवाद बढाउन जोड दिएका थिए।
त्यस्तै उम्मेदवार राजुनाथ पाण्डेले पनि आफ्ना निर्वाचन क्षेत्रमा भइरहेका गतिविधिबारे जानकारी गराउन नेता शाहसँग भेट भएको बताए। भेटका क्रममा अभियान सञ्चालन र सन्देश प्रवाहबारे विचार–विमर्श भएको उनको भनाइ थियो।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ। वरिष्ठ नेता शाह स्वयं झापा–५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन्।





प्रतिकृया दिनुहोस्