काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेसले विगतका सकारात्मक उपलब्धिलाई निरन्तरता दिँदै पुराना कमजोरीलाई पछाडि छाडिसकेको दाबी गरेका छन्।
सर्लाही–४ मा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले पार्टीको इतिहास, परम्परा र संस्कृतिप्रति गर्व रहेको उल्लेख गरे। उनका अनुसार कांग्रेसको यात्रा केवल आलोचनाको विषय होइन, यसले देशको सामाजिक र सांस्कृतिक विकासमा पनि योगदान दिएको छ।
“हामीले हिजोका राम्रा पक्षलाई बोकेका छौँ, तर समयसँग नमेल खाने अभ्यासलाई छोडेका छौँ,” थापाले भने, “नयाँ पुस्ताको अपेक्षा र वर्तमान चुनौतीलाई ध्यानमा राखेर कांग्रेस अघि बढिरहेको छ।”
उनले पार्टीसँग आगामी पाँच वर्षका लागि स्पष्ट कार्ययोजना र देश रूपान्तरणको दृष्टिकोण रहेको बताए। भ्रष्टाचार र कुशासन अन्त्य गर्दै लामो समयदेखि अधुरा रहेका काम पूरा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
सभापति थापाका अनुसार अबको कांग्रेस सुधार, पारदर्शिता र विकासलाई केन्द्रमा राखेर जनताको विश्वास जित्ने दिशामा केन्द्रित हुनेछ।





प्रतिकृया दिनुहोस्