काठमाडौं। नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेल आइतबार राति नेपाल एयरलाइन्सको उडानमार्फत नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टोकियो प्रस्थान गर्नेछन्। भ्रमण सकेर उनी माघ २१ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ।
भ्रमणका क्रममा माघ १९ गते जापान सरकारले आयोजना गर्ने विशेष स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनेछन्। त्यसैगरी माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट नारुहितोसँग शिष्टाचार भेटवार्ता गर्ने तालिका रहेको परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए।
त्यसै दिन जापानका प्रधानमन्त्री ताकाइची सानाएसँग द्विपक्षीय छलफल हुने तथा जापानका विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि भेट हुने कार्यक्रम रहेको छ।
राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग संवाद गर्नुका साथै जापानस्थित नेपाली दूतावासले आयोजना गर्ने सम्मान कार्यक्रममै पनि सहभागिता जनाउनेछन्। भ्रमणमा राष्ट्रपति पौडेलसँग उनकी धर्मपत्नी सबिता पौडेल र उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी हुने बताइएको छ।





प्रतिकृया दिनुहोस्