नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई स्पष्ट बहुमतसम्म पुर्याउने लक्ष्यसहित अभियान अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन्। पार्टीको पुरानो नाराभन्दा अब अझै ठोस र महत्वाकांक्षी लक्ष्य बोकेर जनतामाझ जानुपर्ने उनको जोड थियो।
शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘अब “कांग्रेसको सरकार” भन्ने नारामा सीमित नबसौँ। यदि नारा लगाउने नै हो भने “अबकी बार सय पार” भनेर आत्मविश्वासका साथ लगाउनुस्।’
उनले यसपटकको निर्वाचनमा कांग्रेसलाई सय सिटभन्दा माथि पुर्याउन सकिने आधार र सम्भावना दुवै रहेको दाबी गरे। ‘लक्ष्य ठुलो राखेर मेहनत गर्यौँ भने बहुमत असम्भव छैन,’ उनले भने, ‘मज्जाले पुग्न सकिन्छ।’
थापाले बहुमतको यात्राका लागि संगठनको तल्लो तहसम्म सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए। उनले पार्टीका प्रत्येक नेता–कार्यकर्ताले आफूलाई उम्मेदवारकै रूपमा लिएर जनताको घरदैलोमा पुग्नुपर्ने बताए।
‘१० लाखभन्दा बढी क्रियाशील सदस्य भएको पार्टी हो कांग्रेस,’ उनले भने, ‘वडा–वडा र टोल–टोलमा संगठन भएको पार्टीले चाहे भने परिणाम निकाल्न सक्छ।’
सभापति थापाले कांग्रेस परिवर्तन भएर आएको दाबी गर्दै बद्लिएको कांग्रेसले देशलाई पनि बदल्ने विश्वास व्यक्त गरे। उनले यही भरोसाका साथ कार्यकर्ताले तल्लो तहसम्म पुगेर जनतालाई विश्वस्त बनाउनुपर्ने बताए।





प्रतिकृया दिनुहोस्