काठमाडौं। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं फेरि प्रहरी नियन्त्रणमा परेका छन्। निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा उनलाई शुक्रबार काठमाडौंको दक्षिणकाली नगरपालिका–स्थित चाल्नाखेल क्षेत्रबाट पक्राउ गरिएको हो।
निर्वाचन आयोगले आचारसंहिता विपरीत गतिविधि गरेको ठहर गर्दै प्रहरीको साइबर ब्युरोलाई कारबाहीका लागि पत्राचार गरेपछि सोही आधारमा प्रसाईंलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।
यसअघि पनि प्रसाईं माघ ५ गते पोखराबाट पक्राउ परेका थिए। त्यतिबेला कांग्रेसको विशेष महाधिवेशनसँग जोडेर निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादित अभिव्यक्ति सार्वजनिक भएपछि उनी प्रहरी कारबाहीमा परेका थिए।
प्रसाईंको पछिल्लो पक्राउसँगै उनको अभिव्यक्ति र गतिविधिलाई लिएर राजनीतिक तथा सामाजिक वृत्तमा पुनः चर्चा सुरु भएको छ।





प्रतिकृया दिनुहोस्