काठमाडौँ , २२ भदौ । नेपालमा हाल २० भन्दा बढी सामाजिक सञ्जालहरू सरकारले बन्द गरिदिएको छ । विशेष गरेर नेपालीहरूले धेरै प्रयोग गर्ने सञ्जालहरू फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्स्याप लगायत धेरै सामाजिक सञ्जाल बिहीबारदेखि प्रतिबन्धित छन् ।
यसरी सरकारले सामाजिक सञ्जाल बन्द गरे लगत्तै नेपालको युवा पुस्ता, विशेष गरी जेनजी पुस्ताले, सत्ता र भ्रष्टाचारविरुद्ध सामाजिक सञ्जालमा सुरु गरेको आन्दोलन अब डिजिटल सिमाना तोड्दै सडकमा उत्रने तयारीमा छ । जेनजी पुस्ताले ‘दी फाइनल रिभोलुसन’ नाम दिइएर भोली भदौ २३ अर्थात् ८ सेप्टेम्बर का दिन काठमाडौँ स्थित माइतीघर मण्डला, नयाँ बानेश्वर र संसद् भवन अगाडि बृहत् प्रदर्शनको घोषणा गरेका छन् । विशेष कुरा त के छ भने यो आन्दोलन नेतृत्वविहीन रहेको छ । अझ भनौँ यस आन्दोलनलाई कुनै पनि पार्टी वा सङ्घ संस्थाले परिचालन गर्ने छैन । नेतृत्वविहीन र स्व स्फूर्त परिचय लिएको यो आन्दोलनले सामाजिक सञ्जालमा गहिरो पकड बनाइसकेको छ । खास गरी, ‘नेपो बेबी ट्रेन्ड’ बाट सुरु भएको असन्तोष अहिले पूर्ण राजनीतिक असहमतिमा रूपान्तरण भएको देखिन्छ ।
विशेष गरेर सामाजिक सञ्जाल टिकटकमा नेताका सन्तानको विलासी जीवनशैलीलाई सर्वसाधारण नागरिकको कठिन जीवनसँग तुलना गर्दै आक्रोश फैलिउदैँ शुरु गरिएको यो आन्दोलनले अब भने वास्तविक सडक आन्दोलनको रूप लिने भएको छ । यो आन्दोलनको नेतृत्व कसले लिन्छ भन्ने हालसम्म अझै स्पष्ट छैन । तर, उनीहरूका अनुसार उद्देश्य भने सत्ताको मनोमानी, भ्रष्टाचार र सामाजिक विभेदविरुद्ध आवाज उठाउनु भनिएको छ । साथै कुनै दल वा सङ्गठनको झन्डा नउठाउने घोषणा यो आन्दोलनको प्रमुख विशेषता हो । आन्दोलन काठमाडौँमा मात्र केन्द्रित नभई काठमाडौँ बाहिरका सहरहरू इनरुवा, धरान, पोखरा, बुटवल लगायतमा पनि प्रदर्शनको तयारी भइरहेको छ।
आन्दोलन गर्न उत्साहित हुनुमा सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि भएको पाइएको छ । सामाजिक सञ्जाल बन्दको आक्रोशले झनै युवा शक्ति बलियो भएको देखिन्छ। नेताका छोराछोरीको विलासी जीवनशैली र जनता भोगिरहेको दुःखबिचको गहिरो खाडलले जेनजीहरुलाई गम्भीर रूपमा झकझक्याएको छ । सामाजिक सञ्जालमा देखाइएका भिडियोहरूमा नेताका छोराछोरीको विदेश यात्रा, महँगा ब्रान्डका कपडा र गाडीहरू देखाइन्छन्, अनि अर्कोतर्फ जनताको सङ्घर्ष विदेशिएको युवा, बाकसमा फर्केको लास र बाढीपीडित गाउँहरू । यो असमानता देखाउँदै गरिएको दृश्य प्रस्तुतिले सामाजिक सञ्जाल प्रयोगकर्तामा निकै ठुलो भावनात्मक प्रभाव पारेको छ । यो सबै कारणले युवाहरू सडकमा आउन लागिएको बुझिन्छ ।
तर यता ८ सेप्टेम्बर का दिन आन्दोलन गर्ने भनेर सार्वजनिक रूपमा भनिरहँदा सरकार पक्ष भने हालसम्म पनि मौन जस्तै रहेको छ । आक्रोशित युवाहरू प्रदर्शनमा आउँदा प्रदर्शन हिसांत्मक बन्ने हो कि भन्ने डर पैदा भइरहेका बेला सरकार पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन । त्यसै गरी आन्दोलनमा अभियन्ता दुर्गा प्रसाईँ पनि सहभागी हुने जनाएका छन् । दुर्गा प्रसाईँ उनै व्यक्ति हुन् जो चैत १५ मा भएको राजावादी प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको भनेर प्रहरीले पक्राउ गरेको थियो उनी केही समय अघि मात्र बाहिर आएका छन् । त्यसै गरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अभियन्ताहरू लगायतले पनि यस आन्दोलनको समर्थन गरेको पाइएको छ ।
जेनजीलाई बालेनको पनि साथ
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले जेनजीहरुले गर्ने भनिएको आन्दोलनलाई समर्थन जनाएका छन् । उमेर हदबन्दीका कारण आफू प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्
बालेनले तपाईँहरुले कस्तो देश देख्न चाहनु हुन्छ ?’ भन्दै प्रश्न पनि गरेका छन् ।





प्रतिकृया दिनुहोस्