केही दिनअघि Standard Khabar ले प्रकाशित गरेको सिद्धलेख गाउँपालिका वडा नं ५ र वडा नं–१ जोड्ने कालीदहको मोटरेबल पुल निर्माणमा देखिएको लापरवाहीसम्बन्धी समाचारले ठेकेदार कम्पनीहरूको ध्यानाकर्षण गरेको छ। स्थानीय बासिन्दासँगको सोधपुछका आधारमा तयार पारिएको सो समाचारले सुरुआतमा ठेक्का लिएका सूर्य कन्स्ट्रक्सन प्राली काम छाडेर हिँडेको, र पछि नयाँ ठेकेदार आएर पनि काम सुस्त भएको जनगुनासो उजागर गरेको थियो।
तर समाचार प्रकाशनपछि सो ठेक्काको पूर्ण जिम्मेवारीबारे ठोस तथ्य स्पष्ट भएको छ।
“ठेक्का एक कम्पनीको मात्र नभई तीन कम्पनीको संयुक्त सहकार्यमा थियो” — रूपचन्द्र लामिछाने
उक्त निर्माण कार्यको सम्पूर्ण जिम्मेवारी लिएका पञ्चेश्वर कन्स्ट्रक्सन प्रालीका सञ्चालक रूपचन्द्र लामिछानेले Standard Khabar सँग फोनमार्फत प्रतिक्रिया दिँदै पुल निर्माणको ठेक्का सूर्य कन्स्ट्रक्सन प्राली, पञ्चेश्वर कन्स्ट्रक्सन प्राली र देवीनाथ कन्स्ट्रक्सन प्रालीको संयुक्त सहकार्यमा रहेको जानकारी गराए।
उनको भनाइमा,
“यहाँ उठाइएका स्थानीय गुनासोहरू सही हुन सक्छन्। तर यो ठेक्का केवल सूर्य कन्स्ट्रक्सनको मात्र होइन, तीनवटा कम्पनीको संयुक्त जिम्मेवारीमा रहेको परियोजना हो।”
लामिछानेको दाबी — ८५% काम सकिएको
उहाँका अनुसार पुल निर्माण हाल ८५ प्रतिशतसम्म सम्पन्न भइसकेको छ।
खोलामा पुल निर्माण गर्दा बारम्बार बर्खाको मौसमले तयार गरेका संरचना बगाउने, काम अवरुद्ध हुने, ठूलो खोला भएकाले मेसिनरी चलाउन गाह्रो हुने जस्ता प्राविधिक चुनौतीहरूका कारण काम ढिलो भएको कुरा पनि उहाँले स्वीकार गर्नुभयो।
“बर्खाले धेरैपटक हामीले बनाइसकेको कामसमेत बगायो। साइटमा काम गर्न एकदमै जोखिम थियो,” लामिछानेले भने।
अब काम पुनः सुरु भएको, झण्डै दुई महिनामै सकिने दाबी
हाल रोकिएको काम फेरि सुरु भइसकेको उल्लेख गर्दै उनले थपे—
“हामी अहिले लगातार काम सुरु गरिसकेका छौँ। यदि मौसम सामान्य रह्यो भने अबको दुई महिनाभित्र हामीले लिएको सम्पूर्ण जिम्मेवारी पूरा गर्छौँ।” र अहिले उक्त पुलको फिल्डमा काम गरिरहेका आयुप कन्स्ट्रक्सन प्रालीका सञ्चालक आयुप तामाङका भनाइ अनुसार “अहिले पुलको दायाँबायाँ वाल हाल्ने काम भइरहेको छ,हामी कामप्रति कटिबद्ध छौँ ,स्थानीयको समस्यालाई मध्यनजर गर्दै छिटोभन्दा छिटो काम सम्पन्न गर्छौं।”
स्थानीयको गुनासो: जोखिमपूर्ण आवतजावत र वर्षौंदेखि अधुरो संरचना
स्थानीय बासिन्दाहरू भने लामो समयदेखि काम सुस्त हुँदा आफ्नो दैनिकी कठिनाइमा परेको बताइरहेका छन्। पुल निर्माण सुरु भएको वर्षौँ बितिसक्दा पनि खोला पार गर्न झोलुङ्गे पुल र जोखिमपूर्ण बाटोमै निर्भर रहनुपरेको उनीहरूको गुनासो छ।
कृषि उत्पादन ढुवानी, विद्यार्थीको आवतजावत, आकस्मिक बिरामी झिक्ने जस्ता सेवाहरूमा पुल अभावले ठूलो समस्या आएको स्थानीयहरूको कथन छ।
२०७८ सालमा शिलान्यास, १८ महिनाको लक्ष्य, तर समयसीमा नाघ्यो
सिद्धलेख–कालीदह मोटरेबल पुलको शिलान्यास २०७८ सालमा गरिएको थियो।
निर्माण सम्पन्न गर्ने लक्ष्य १८ महिना तोकिएको थियो।
तर बर्खा, प्राविधिक चुनौती र आन्तरिक समन्वयका कारण लक्ष्यअनुसार काम समयमा पूरा हुन नसकेको कुरा रूपचन्द्र लामिछानेले स्वीकार गरेका छन्।
अघिल्लो समाचारमा उठाइएका प्रश्न अझै खुला
Standard Khabar ले अघिल्लो समाचारमा उठाएको—
- काम किन लामो समयसम्म अलपत्र रह्यो?
- स्थानीय निकाय, प्रदेश सरकार र सडक डिभिजनको अनुगमन किन कमजोर भयो?
- ठेकेदार कम्पनीहरूले जिम्मेवारी कत्तिको निर्वाह गरे?
जस्ता प्रश्नहरू अहिले पनि स्थानीयहरूबीच उठिरहेको छन्।
यद्यपि ठेकेदार कम्पनीका प्रतिनिधिले काम अन्तिम चरणमा पुगेको दाबी गरे पनि स्थानीय तहमा देखिने वास्तविक प्रगतिलाई कसरी मूल्यांकन गर्ने भन्ने सवाल खुलै छ।
स्थानीयको अपेक्षा — ‘यसपटक समयमै पूरा गरियोस्’
उच्च अपेक्षाका साथ सुरु भएको यो परियोजना धेरैपटक निराशाको कारण बनेकोमा स्थानीय बासिन्दाले अब भने बाँकी काम समयमै पूरा हुने आशा व्यक्त गरेका छन्।
“अब ठेकेदारले भनेको जस्तै दुई महिनाभित्र काम पूरा भइदियो भने हाम्रो वर्षौँको दुःख हट्न सक्छ,” एक स्थानीय बासिन्दाले भने।





प्रतिकृया दिनुहोस्