विगत केही दिनदेखि तराई क्षेत्रमा देखिएको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन कायम रहने भएको छ। जल तथा मौसम विज्ञान विभागले तराईमा देखिएको हुस्सु र कुहिरो कम्तीमा आगामी तीन दिनसम्म जारी रहने भन्दै सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रत्यक्ष प्रभाव पर्न सक्ने जोखिम रहेको छ। विशेषगरी बिहान र बेलुकाको समयमा दृश्यता अत्यन्त कम हुने भएकाले सवारी चालकलाई सतर्क रहन अनुरोध गरिएको छ।
विभागका मौसमविद् हरिप्रसाद दाहालले तराईका अधिकांश स्थानमा आज पनि बाक्लो हुस्सु तथा कुहिरो लागेको जानकारी दिए। उनका अनुसार तत्काल पानी पार्ने मौसमी प्रणाली सक्रिय नहुँदा र पश्चिमी वायु प्रभावकारी हुन नसक्दा हुस्सु–कुहिरो अझै बढेको हो।
“आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना देखिँदैन। यस अवधिमा स्वास्थ्य, दैनिक जनजीवन, सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सबैले सतर्कता अपनाउन आवश्यक छ,” मौसमविद् दाहालले बताए।
विभागले जारी गरेको बुलेटिनअनुसार आज कोसी प्रदेशका तराई भू–भागमा मध्याह्नसम्म र बाँकी तराई क्षेत्रमा दिनभर नै हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ।
मौसमविद्हरूले यस्तो अवस्थामा न्यानो लुगा लगाउन, तातो खानेकुरा खान, बालबालिका र ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न तथा अनावश्यक यात्रा नगर्न सुझाव दिएका छन्।





प्रतिकृया दिनुहोस्