विभिन्न ९ बुँदे माग अघि सार्दै माइतीघर मण्डलामा आमरण अनसन बसिरहेका डा. कमल (निकोलस) भुसालले माग पूरा नभएसम्म अनसन नतोड्ने स्पष्ट पारेका छन्। बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू सुशासन, भ्रष्टाचार अन्त्य र राजनीतिक प्रणाली सुधारका लागि ‘वार कि पार’ को लडाइँमा उत्रिएको बताएका हुन्।
डा. भुसालले तत्काल प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने, जेन–जी आन्दोलनका क्रममा पक्राउ परेका सबै बन्दीहरूलाई विनाशर्त रिहा गर्नुपर्ने माग गरेका छन्। उनले सरकारले जनआन्दोलन र युवाको आवाजलाई बेवास्ता गरेको आरोप लगाए।
अनसनरत भुसालले आफूलाई कार्यकारी अधिकारसहितको प्रधानमन्त्री बनाइए एक महिनाभित्र देशको कायापलट गरेर देखाउने दाबी पनि गरे।
‘यदि म वा हाम्रो टिमबाट प्रधानमन्त्री बन्यौँ भने एक महिनाभित्र ९ वटै माग पूरा हुन्छ,’ उनले भने, ‘यदि गर्न सकिनँ भने मलाई यही माइतीघरमा ल्याएर झुन्ड्याइदिए हुन्छ।’
उनले २०४६ सालयताका सबै नेता, कर्मचारी र उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गरी भ्रष्टाचारमा संलग्नलाई जेल हाल्ने र उनीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने योजना सुनाए। डा. भुसालले देशले संघीय संरचनाको आर्थिक भार धान्न नसक्ने दाबी गर्दै प्रदेश सभा र राष्ट्रिय सभा खारेज गर्नुपर्ने माग दोहोर्याए।
‘यो देश हिरा हो तर हामीले चिन्न सकेनौँ,’ उनले भने, ‘संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था नगरेसम्म स्थिरता आउँदैन। थोत्रा दल र थोत्रा नेताबाट अब देश चल्दैन।’
सरकारले आफ्ना मागहरूलाई गम्भीरतापूर्वक नलिए बङ्गलादेशजस्तै अवस्था सिर्जना हुन सक्ने चेतावनीसमेत उनले दिए।
‘अस्ति मात्रै ७८ जनाले ज्यान गुमाए, यो सामान्य कुरा होइन,’ उनले भने, ‘हामी शान्तिपूर्ण रूपमा अनसन बसेका छौँ। माग पूरा गर्न १० दिन पनि नलाग्ने काम हो। सरकारले नसुने परिणाम गम्भीर हुन्छ।’
डा. कमल भुसालले माग पूरा नभएसम्म वा आफ्नो मृत्यु नभएसम्म अनसन जारी राख्ने दृढ अडान व्यक्त गरेका छन्।





प्रतिकृया दिनुहोस्