बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई फेब्रुअरी २०२६ मा हुने राष्ट्रिय संसदीय निर्वाचनमा भाग लिन नदिने स्पष्ट पारेको छ। पार्टीका गतिविधिमा प्रतिबन्ध कायम रहेकाले चुनाव लड्न अनुमति नदिइने सरकारको अडान छ।
पत्रकार सम्मेलनमा अमेरिकी सांसदहरूले अवामी लिगमाथिको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै पत्र लेखेको विषयमा सोधिएको प्रश्नमा अन्तरिम सरकारका प्रमुख सल्लाहकारका प्रेस सचिव शफिकुल आलमले आफूले त्यस्तो कुनै पत्र नदेखेको र जानकारी पनि नभएको बताएका छन्। तर उनले अवामी लिगबारे सरकारको नीति स्पष्ट र परिवर्तन नहुने दोहोर्याए।
मे महिनाको सुरुमा अन्तरिम सरकारले अवामी लिग र त्यससँग सम्बद्ध सबै संगठनको गतिविधिमा प्रतिबन्ध लगाउने राजपत्र सूचना जारी गरेको थियो। गृह मन्त्रालयको सार्वजनिक सुरक्षा विभागले जारी गरेको उक्त सूचनामा आतंकवाद विरोधी (संशोधन) अध्यादेशअन्तर्गत कारबाही गरिएको उल्लेख छ। अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा मुद्दा टुंगो नलागेसम्म प्रतिबन्ध कायम रहने सरकारको भनाइ छ।
हाल अवामी लिगका धेरै शीर्ष नेताहरू अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा मुद्दा खेपिरहेका छन् भने पार्टीको दर्ता पनि निलम्बनमा छ।
यता पूर्वप्रधानमन्त्री शेख हसिनाले अवामी लिगलाई चुनावबाट बाहिर राख्ने निर्णयको कडा विरोध गरेकी छन्। “अवामी लिगबिनाको चुनाव चुनाव होइन, राज्याभिषेक हुनेछ,” उनले भनिन्। उनले अवामी लिग प्रतिबन्धित रहे लाखौं नागरिक मतदान अधिकारबाट वञ्चित हुने र यस्तो चुनावबाट बनेको सरकारसँग नैतिक वैधता नहुने दाबी गरिन्।
हसिनाले बंगलादेशलाई यस समय राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको भन्दै सरकारको निर्णयलाई ठूलो अवसर गुमाउने कदमको रूपमा व्याख्या गरेकी छन्।





प्रतिकृया दिनुहोस्