राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच पार्टी एकता वा चुनावी सहकार्यको घोषणा आज रातिसम्म हुने संकेत देखिएको छ। दुवै नेताबीच पार्टीको नाम, चुनाव चिह्न र उम्मेदवारको अनुपातबारे अन्तिम छलफल भइरहेको निकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार रास्वपाका तर्फबाट ७० र बालेन पक्षबाट ३० प्रतिशतको अनुपातमा समानुपातिक उम्मेदवार सूची तयार गर्ने प्रस्ताव छलफलमा छ। यसमा आवश्यक परे संख्या तलमाथि गर्न सकिने रविको प्रस्ताव रहेको बताइएको छ।
रवि र बालेनबीचको संवादलाई निष्कर्षमा पुर्याउन असीम शाह, आसिफ शाह र कुमार बेन सक्रिय भएका छन्। उनीहरूले विस्तृत सहमतिको खाका तयार पार्ने गरी थप छलफलको गृहकार्य थालेका छन्।
निकटस्थहरूका अनुसार एकीकृत पार्टी बने बालेनको बरियता रविभन्दा ठीक मुन्तिर रहनेछ भने पहिलो चरणमै बालेनलाई प्रधानमन्त्री बनाउने पुरानो प्रतिबद्धतामा रवि अझै कायम छन्। यही बुँदामा आधारभूत सहमति हुने ठोकुवा गरिएको छ।
यसअघि रविसँगको संवादबाट स्पष्ट निष्कर्ष ननिस्किएपछि बालेनले आफ्ना सहयोगी कुमार बेनको ज्वागलस्थित निवासमा बसेर ‘देश विकास पार्टी’ मार्फत अघि बढ्ने संकेतसहित राजनीतिक भेटघाट तीव्र पारेका थिए। ७ पुसको कमलपोखरी बैठकका विषयहरू बाहिर फरक रूपमा प्रस्तुत गरिएको भन्दै बालेन असन्तुष्ट बनेका थिए।
बिहीबार अपराह्नसम्म चलेको पछिल्लो भेटमा पार्टीको नाम, चुनाव चिह्न र सहकार्यको मोडालिटीबारे गम्भीर छलफल भएको थियो। सञ्चारकर्मीले ‘लौरी कि घण्टी’ भन्ने प्रश्न गर्दा रविले ‘समयले बताउने’ प्रतिक्रिया दिएका थिए। रास्वपाको चुनाव चिह्न घण्टी अन्तर्गत अघि बढ्न बालेनलाई खास आपत्ति नरहेको बुझिएको छ।
संवाद तिक्ततातर्फ जान खोजेपछि सहकर्मीहरूले दुवै नेतालाई तत्काल मिल्न दबाब दिएका थिए। बिहीबार साँझ पुनः भेट हुने भनिए पनि सम्भव हुन सकेन। सो समय बालेनले ऊर्जामन्त्री कुलमान घिसिङसँग अलग्गै छलफल गरेका थिए। विभिन्न शक्ति र व्यक्तिलाई एक ठाउँमा ल्याउने पहल बालेनले लिएको बताइएको छ।
रास्वपा नेता असीम शाहले संवाद सकारात्मक निष्कर्षतर्फ अघि बढिरहेको बताए। “धेरै विषय अझै छलफलमै छन्, तर नयाँ शक्तिहरूबीचको एकता जेन–जीको भावना हो। छिट्टै सकारात्मक सन्देश आउँछ,” उनले भने।





प्रतिकृया दिनुहोस्