प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबीच शनिबार निर्वाचनका विषयमा छलफल हुने भएको छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच शीतलनिवासमा भेटवार्ता भएको थियो। त्यसैको निरन्तरताका रूपमा प्रधानमन्त्री कार्कीले शनिबार तीन दलका नेतासँग पुनः छलफल गर्न लागेकी हुन्।
शुक्रबार सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका छन्। खरेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
सञ्चारमन्त्री खरेलको सचिवालयका अनुसार शनिबार अपराह्न ४ बजे प्रधानमन्त्री र तीन दलका शीर्ष नेताबीच भेटवार्ता र छलफलको कार्यक्रम तय गरिएको छ।
सरकारले फागुन २१ गते निर्वाचन गर्ने तयारी गरे पनि केही दलहरूले शान्ति सुरक्षा लगायत विषयमा प्रश्न उठाउँदै आएका छन्। विशेषगरी नेकपा एमालेले आपत्ति जनाइरहेका बेला सरकारका मन्त्रीहरू दलका नेतासँग प्रत्यक्ष संवाद गर्दै निर्वाचनको वातावरण बनाउने प्रयासमा जुटेका छन्।





प्रतिकृया दिनुहोस्