काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकताको चर्चा चलिरहेका बेला नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले त्यसलाई सकारात्मक रूपमा लिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता ज्ञवालीले विचार मिल्ने शक्तिहरू एक ठाउँमा उभिनु लोकतान्त्रिक प्रतिस्पर्धाकै हिस्सा भएको बताएका छन्। यद्यपि, यो एकता साँच्चिकै विचारको हो वा स्वार्थ प्रेरित भन्ने कुरा समयले नै स्पष्ट गर्ने उनको भनाइ छ।
‘सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबार पुग्न खोज्नु सकारात्मक हो,’ ज्ञवालीले लेखेका छन्। तर पछिल्लो समय बढेको भेटघाटलाई लिएर भ्रामक तरंग सिर्जना गर्न खोजिएको उनको आरोप छ।
उनले केही व्यक्तिहरूको मिलनले कुनै ‘तारणहार’ जन्मिएर देशले मुक्ति पाउने जस्तो भ्रम फैलाइँदै गएको टिप्पणी गरेका छन्। दक्षिण भारतीय चलचित्रको उदाहरण दिँदै उनले एक नायकको आगमनले सबै समस्या समाप्त हुन्छ भन्ने सोच अव्यावहारिक भएको बताएका छन्।
‘यस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्याउँदैन,’ ज्ञवालीले उल्लेख गरेका छन्। उनका अनुसार देश निर्माणमा व्यक्तिको भूमिका भए पनि विचार, संस्था, प्रणाली र सामूहिक प्रयास अनिवार्य हुन्छ।
ज्ञवालीले शासन प्रणाली, आर्थिक नीति, सामाजिक व्यवस्थापन, भूराजनीति, जलवायु परिवर्तन र संविधान संशोधनजस्ता गम्भीर प्रश्नहरूमा स्पष्ट विकल्प नआएको पनि बताएका छन्। ‘छ भने केवल नकारात्मकता, निषेध र घृणा,’ उनले लेखेका छन्।
उनले मिडियामाथि पनि कटाक्ष गर्दै विगतमा ‘जनसरकार’ घोषणाका समाचार कभर गर्न हेलिकप्टर चार्टर गरिएका दिनहरू सम्झिएका छन्। त्यतिबेलाको ‘मिडिया हाइप’ आज कपुरको बास्नाझैँ विलुप्त भइसकेको उनको टिप्पणी छ।
अन्त्यमा ज्ञवालीले ‘घोडा पानीदार हो कि होइन भन्ने टुंगो लामो दौडले नै तय गर्छ’ भन्दै समाजलाई भावनाभन्दा तर्कसंगत बन्न अपिल गरेका छन्। ‘स्वप्न भङ्गताको क्षण अत्यन्त पीडादायी हुन्छ,’ उनको चेतावनी छ।





प्रतिकृया दिनुहोस्