काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेतृत्वको समूहबीच शनिबार निर्णायक हुने भनिएको वार्ता अनिश्चित बनेको छ। शक्ति बाँडफाँट (पावर सेयरिङ) को विषयमा सहमति जुट्न नसक्दा वार्ता अन्योलमा परेको हो।
शुक्रबार अबेरसम्म भएको दुई पक्षीय छलफलमा बालेन पक्षले ५०–५० प्रतिशत पावर सेयरिङको प्रस्ताव राखेपछि सहमति हुन नसकेको स्रोतले जनाएको छ। स्रोतका अनुसार पार्टी सभापति रवि लामिछानेलाई बनाउने र भावी प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने विषयमा मोटामोटी सहमति भए पनि केन्द्रीय समिति र प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार छनोटमा आधा–आधा हिस्सा मागिएपछि वार्ता अड्किएको हो।
शुक्रबार सहमति नजुटेपछि बालेनले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग छलफल गरी फेरि वार्तामा बस्ने भनिए पनि हालसम्म ठोस प्रगति भएको छैन। शनिबार बिहान कुलमान र बालेन समूहबीच छलफल भए पनि दुवै पक्षबाट कुनै ठोस प्रस्ताव बाहिर आएको छैन।
रास्वपा पक्षले आज बालेनसँग छलफल हुने सम्भावना न्यून रहेको जनाएको छ। स्रोतले भन्यो, “आज कुनै समूहसँग छलफल भएको छैन। रवि र बालेनबीच पनि तत्काल वार्ताको सम्भावना देखिँदैन। समानुपातिक बन्द सूची बुझाउने समय १४ गतेसम्म भएकाले हतारिनुपर्ने अवस्था छैन।”
यता बालेन समूह भने कुलमान घिसिङको प्रतिक्रियाको प्रतीक्षामा रहेको बताउँदै रेशम चौधरी र सिके राउतलाई समेत समेटेर अघि बढ्नुपर्ने प्रस्तावमा अडिएको छ।
मंगलबार रातिदेखि रास्वपाका वार्ता समितिका सहसंयोजक शिशिर खनाल, अमित शाह तथा बालेन समूहबाट कुमार बेन, स्वकीय सचिव भूपदेव शाहलगायतबीच लगातार छलफल भए पनि हालसम्म कुनै निष्कर्ष निस्किएको छैन।





प्रतिकृया दिनुहोस्