काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बनेपछि अब आफ्नो समय, ऊर्जा र अनुभव देशका लागि समर्पण गर्ने बताएका छन्।
अनलाइनखबरसँग कुरा गर्दै सपुतले कलाकारितामा अब नयाँ सपना र लोभ नरहेको उल्लेख गर्दै राजनीतिमार्फत देशका लागि योगदान दिन चाहेको बताए।
‘अबको मेरो जोडबल देशलाई समय दिने भन्नेमा हुनेछ,’ उनले भने, ‘राजनीतिमा सानो भूमिका नै किन नहोस्, देशकै लागि आफ्नो ऊर्जा समर्पण गर्ने सोच बनाएको छु।’
आफूलाई कलाकारका रूपमा चिनिनु नै ठूलो सपना भएको भन्दै सपुतले त्यो पूरा भइसकेको बताए।
‘फिल्म वा संगीतमा अर्को हिटभन्दा बाहिर अब व्यक्तिगत सपना छैन,’ उनले भने, ‘यस चरणमा देशका लागि केही गर्नुपर्ने जिम्मेवारी महसुस गरेको छु।’
राजनीतिमा प्रवेश गर्नुको उद्देश्य वैकल्पिक शक्तिलाई समर्थन गर्नु रहेको उनको भनाइ छ। ‘वैकल्पिक राजनीतिक शक्तिलाई अघि सार्नुपर्छ भन्ने सोच पहिलेदेखि थियो,’ उनले भने।
सपुतले आफ्नो सिर्जनात्मक चेत समाज र राजनीतिसँग नजिक रहेको उल्लेख गर्दै अहिलेको आवश्यकता व्यवस्था परिवर्तनभन्दा अवस्था सुधार भएको बताए।
‘योग्य, क्षमतावान र नयाँ अभ्यासबाट आएका व्यक्तिसँग काम गर्न सजिलो हुन्छ,’ उनले भने।
प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेपछि अब प्रचारप्रसारमा सक्रिय हुने योजना रहेको बताउँदै सपुतले वैकल्पिक शक्तिलाई जनतामाझ पुर्याउनु आफ्नो प्राथमिकता हुने स्पष्ट पारे।
यसैबीच, उनको अभिनय रहेको फिल्म ‘मिरमिरे’ १ वैशाखदेखि प्रदर्शनमा आउँदैछ भने अर्को फिल्म ‘परालको आगो’ पनि वैशाखमै रिलिज हुने तयारीमा छ।





प्रतिकृया दिनुहोस्