काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, अमनचयन र दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन भएको बताएकी छन्।
बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईँसँगको भेटमा प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सफल बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन्।
उनले प्रसाईँले उठाएका कतिपय माग जनताका पक्षमा रहेको उल्लेख गर्दै सरकारले तिनलाई सम्बोधन गर्न गृहकार्य गरिरहेको बताइन् र असन्तुष्टि शान्तिपूर्ण रूपमा राख्न आग्रह गरिन्।
देशलाई राजनीतिक अस्थिरता र अन्योलबाट निकास दिन प्रतिनिधिसभा निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउने राष्ट्रिय अभियानमा साथ दिन आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले सरकार भ्रष्टाचार अन्त्य र शोषित–पीडितलाई न्याय दिलाउने उद्देश्यका साथ काम गरिरहेको स्पष्ट पार्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गरिने बताइन्।
सो अवसरमा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्न सहयोग गर्न आग्रह गर्दै दुर्गा प्रसाईँलाई शान्तिको प्रतीक भगवान् गौतम बुद्धको तस्बिर प्रदान गरेकी छन्।





प्रतिकृया दिनुहोस्