काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गरेका छन्। मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै उनले उक्त सहकार्यलाई बाघको सिकार गर्न बनाइएको कमजोर मोर्चाको संज्ञा दिए।
‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन,’ ओलीले भनेपछि सभाहलमा हाँसो गुञ्जिएको थियो। उनले एमालेलाई परास्त गर्न सबै शक्ति मोर्चाबन्दीमा लागेको दाबी गर्दै एमाले चुनाव पर्खिरहेको बताए।
ओलीले निर्वाचनबाट नै देशको राष्ट्रिय फैसला हुने उल्लेख गर्दै लोकप्रियताको चर्चा चुनावसम्म चल्ने बताए। ‘हामी चुनाव पर्खिरहेका छौं। फागुन २१ होस्, वैशाख होस् वा अर्को मंसिर—एमाले तयार छ,’ उनले भने।
कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले संविधान पक्षधर शक्तिहरू मिलेर अघि बढ्नुपर्ने धारणा राख्दै एमालेसँग सहकार्यको संकेत गरे। उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पनि लोकतन्त्र जोगाउन एमाले–कांग्रेस सहकार्य आवश्यक रहेको बताए।





प्रतिकृया दिनुहोस्