काठमाडौं ।
नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको आन्तरिक अवस्था कमजोर वा विभाजित हुँदा त्यसको प्रत्यक्ष असर मुलुकको लोकतान्त्रिक प्रणालीमा पर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले विगतका दल विभाजनले देशमा नकारात्मक प्रभाव पारेको स्मरण गराएका हुन्।
ज्ञवालीले वि.सं. २०५४ मा एमाले विभाजन हुँदा हिंसात्मक द्वन्द्व राष्ट्रव्यापी रूपमा फैलिन सघाएको र २०५९ मा नेपाली कांग्रेस विभाजित हुँदा राजाले प्रजातन्त्र अपहरण गर्ने बहाना पाएको उदाहरण प्रस्तुत गरेका छन्। यी घटनाबाट लोकतन्त्रको सुस्वास्थ्यका लागि दलहरूको आन्तरिक एकता र मजबुती अनिवार्य रहेको उनको निष्कर्ष छ।
वर्तमान राजनीतिक सन्दर्भमा संविधान, लोकतन्त्र र राष्ट्रिय हितमाथि चुनौती देखिएको उल्लेख गर्दै उनले नेपाली कांग्रेसलाई आन्तरिक विवाद समझदारी र सुझबुझका साथ समाधान गर्न आग्रह गरेका छन्। प्रमुख दलहरू जिम्मेवार र एकजुट भए मात्रै लोकतान्त्रिक भविष्य सुरक्षित हुने ज्ञवालीको भनाइ छ।





प्रतिकृया दिनुहोस्