काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट उम्मेदवार बन्न जिल्ला नेतृत्वले औपचारिक आग्रह गरेको छ। काठमाडौंमा भएको लामो छलफलपछि प्रचण्डले उक्त प्रस्तावप्रति सकारात्मक धारणा व्यक्त गरेको नेताहरूले बताएका छन्।
चुनावी रणनीतिबारे छलफल गर्न रुकुम पूर्वका साविक माओवादी पृष्ठभूमिका नेताहरू काठमाडौं आएका थिए। उनीहरूले ललितपुरस्थित एक स्थानमा दुई दिनसम्म प्रचण्डसँग भेटघाट गर्दै जिल्लाको राजनीतिक अवस्था, संगठनको पकड र सम्भावनाबारे जानकारी गराएका थिए।
जिल्ला संयोजक कुमारी बराल (गौतम) का अनुसार रुकुम पूर्वलाई आधार इलाका मानिँदै आएको र त्यहाँबाट प्रचण्डको उम्मेदवारी सुरक्षित हुने निष्कर्षसहित आग्रह गरिएको हो। उनका अनुसार छलफल सकारात्मक रह्यो र प्रचण्डको धारणा पनि अनुकूल देखिएको छ।
छलफलमा जिल्ला इञ्चार्ज तेजबहादुर ओली (प्रतीक) लगायत नेताहरू सहभागी थिए भने पार्टी केन्द्रीय तहका केही नेताहरू पनि उपस्थित थिए। रुकुम पूर्वमा प्रत्यक्षतर्फका लागि नौ जनाको नाम सिफारिस भइसकेको भए पनि शीर्ष नेतृत्वको उम्मेदवारी आए सबै आकांक्षी व्यवस्थापन गर्न सकिने सन्देश जिल्ला टोलीले दिएको बुझिएको छ।
माओवादी आन्दोलन सुरु भएको ऐतिहासिक जिल्ला भएकाले रुकुम पूर्वलाई प्रचण्डका लागि सबैभन्दा सुरक्षित क्षेत्रका रूपमा हेरिएको नेताहरूको भनाइ छ। छलफलमा सहभागी एक नेताका अनुसार उम्मेदवारीको सम्भावना करिब अन्तिम चरणमा पुगेको छ, यद्यपि औपचारिक निर्णय बाँकी छ।
प्रचण्ड हाल भारत भ्रमणमा रहेकाले स्वदेश फर्किएपछि यस विषयमा थप छलफल हुने बताइएको छ। पार्टीभित्र विभिन्न जिल्लाबाट आएको दबाबका कारण अन्तिम निर्णय केही समयपछि मात्रै सार्वजनिक हुने संकेत गरिएको छ।





प्रतिकृया दिनुहोस्