अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा भएको पछिल्लो राजनीतिक परिवर्तनपछि अमेरिकाले ठूलो परिमाणमा तेल प्राप्त गर्ने दाबी गरेका छन्। पूर्व राष्ट्रपति निकोलस मदुरो सत्ताच्युत भएपछि बनेको अन्तरिम प्रशासनसँग भएको सहमतिअनुसार अमेरिकालाई ३ करोडदेखि ५ करोड ब्यारेलसम्म तेल आपूर्ति हुने उनको भनाइ छ।
ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत सार्वजनिक गरेको सन्देशमा भेनेजुएलाबाट आउने तेल अन्तर्राष्ट्रिय बजार मूल्यमा खरिद गरिने उल्लेख गरेका छन्। साथै, त्यसबाट प्राप्त हुने आम्दानी अमेरिकाको राष्ट्रपति कार्यालयको निगरानीमा रहने र दुवै देशका जनताको हितमा प्रयोग गरिने दाबी पनि उनले गरेका छन्।
उनको यो प्रतिक्रिया भेनेजुएलामा डेल्सी रोड्रिगेजले अन्तरिम राष्ट्रपतिका रूपमा शपथ लिएको एक दिनपछि आएको हो। ट्रम्प प्रशासनले भेनेजुएलामा भएको सत्ता परिवर्तनलाई ऊर्जा सुरक्षासँग जोडेर हेरेको संकेत यसबाट मिल्छ।
यसअघि ट्रम्पले अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै भेनेजुएला जस्तो ठूलो तेल उत्पादक देशसँग सहकार्य हुँदा विश्व बजारमा तेलको मूल्य घटाउन सहयोग पुग्ने बताएका थिए। उनका अनुसार सस्तो तेल आपूर्ति अमेरिकाका लागि मात्र नभई विश्व अर्थतन्त्रका लागि पनि फाइदाजनक हुनेछ।
यसैबीच, सीबीएस न्यूजका अनुसार प्रमुख अमेरिकी तेल कम्पनीका प्रतिनिधिहरूले ट्रम्प प्रशासनसँग सम्भावित सहकार्यबारे छलफल गर्न यसै हप्ता भेटघाट गर्ने तयारी गरेका छन्। तर, ऊर्जा क्षेत्रका केही विश्लेषक भने यस योजनाप्रति सतर्क देखिएका छन्।
बीबीसीसँग कुरा गर्दै विश्लेषकहरूले भेनेजुएलामा राजनीतिक स्थायित्व नआएसम्म ठूला लगानी जोखिमपूर्ण हुने बताएका छन्। उनीहरूका अनुसार अहिले घोषणा गरिएका योजनाले विश्वव्यापी तेल आपूर्ति र मूल्यमा तत्काल ठूलो प्रभाव पार्ने सम्भावना कम छ र लगानीबाट नतिजा आउन वर्षौं लाग्न सक्छ।





प्रतिकृया दिनुहोस्