काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै फरक मत दर्ता गरेका छन्। बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले औपचारिक रूपमा आफ्नो असहमति राखेका हुन्।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले उम्मेदवार छनोट गर्दा पार्टीका स्थापित संरचनाको भूमिका कमजोर बनाइएको आरोप लगाए। उनका अनुसार उम्मेदवार तय गर्ने क्रममा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड दुवैको सम्मानजनक भूमिका देखिन सकेन। ‘उम्मेदवार छनोटमा केन्द्रीय कार्यसमिति र संसदीय बोर्ड दुवैको मानमर्दन भएको छ,’ उनले भने, ‘त्यसैले महामन्त्रीको हैसियतले फरक मत राखेको हुँ।’
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अलग भएपछि कांग्रेसले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)सँग तालमेल गरेको छ। उक्त सहमतिअनुसार १८ सिटमध्ये कांग्रेसले ९, एमालेले ८ र जसपाले १ सिट पाउने समझदारी बनेको छ।
तर, थापाले एमालेसँग गरिएको तालमेलको औचित्यमाथि प्रश्न उठाएका छन्। ‘यो तालमेल किन गरियो ? यसको सैद्धान्तिक आधार के हो ?’ भन्दै उनले पार्टीभित्र गम्भीर छलफल हुनुपर्नेमा जोड दिए।
उनका अनुसार उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र न्यायोचित हुन सकेन। ‘नाम प्रस्ताव गर्ने प्रक्रिया नै पूरा नहुँदै उम्मेदवार मनोनयनपत्र बोकेर हिँडिसकेका छन्,’ थापाले भने। खुला छलफल र सहमतिविना नाम तय गरिएकाले आफू असन्तुष्ट रहेको उनको भनाइ छ।
महामन्त्री थापाले सैद्धान्तिक आधार र छनोट प्रक्रियामा दुवै तहमा असहमति रहेको स्पष्ट पार्दै पार्टीभित्र लोकतान्त्रिक अभ्यास बलियो हुनुपर्ने आवश्यकता औँल्याएका छन्।





प्रतिकृया दिनुहोस्