काठमाडौँ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तोडफोड र विनाशका गतिविधिबाट देश निर्माण हुन नसक्ने बताएका छन्। नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरे।
उनले पछिल्लो समय सरकारले विभिन्न स्थानमा घर तथा बस्ती भत्काउने कामलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टि व्यक्त गरे। विशेषगरी हेटौंडामा गरिएको घर भत्काउने कार्यप्रति संकेत गर्दै ओलीले सरकार विकासभन्दा विनाशतर्फ केन्द्रित भएको आरोप लगाए। ‘चुनावको वातावरण बनाउनुपर्ने बेला घर भत्काउने काम भइरहेको छ,’ उनले भने, ‘कतै आधा भत्काइएको छ, कतै पूरा—यस्तो गतिविधिले जनतामा निराशा मात्रै बढाउँछ।’
ओलीले सरकार स्वयं अस्थिरता सिर्जना गर्ने काममा लागेको टिप्पणी पनि गरे। ‘सरकार भत्कियो, लोकतान्त्रिक मूल्य भत्किए, संविधान कमजोर बनाइयो,’ भन्दै उनले सुकुम्बासी बस्तीसमेत भत्काउनु सरकारको गलत प्राथमिकता भएको बताए।
देश निर्माणका लागि विवेकशील सोच र जिम्मेवार नेतृत्व आवश्यक हुने उल्लेख गर्दै ओलीले आवेग र उन्मादमा गरिएको निर्णयले मुलुकलाई अगाडि बढाउन नसक्ने बताए। ‘देश बनाउन सन्तुलित सोच, स्पष्ट दृष्टिकोण र सही निर्णय आवश्यक छ,’ उनले भने, ‘नशा र उन्मादको भरमा देश बनिँदैन।’





प्रतिकृया दिनुहोस्