शनिबारको बिहान श्रम संस्कृति पार्कतिर जाने बाटोमा गीतको लय र नाराको स्वर मिसिन्छ—
“श्रमदान जिन्दावाद !”
बसबाट झरेका मेयर हर्क साम्पाङ सहभागीहरूसँगै नाच्छन्, हाँस्छन् र फेरि कामको निर्देशन दिन्छन्। चिया, चिउरा र दालमोटको खाजापछि उनी छोटो सम्बोधन गर्छन्—
“श्रमदान अब धरानमा सीमित हुँदैन, नेपालभर फैलिनुपर्छ।”
यही शैली हर्क साम्पाङको राजनीतिक यात्राको पहिचान बनेको छ—रमाइलो, श्रम र सन्देश एकैसाथ।
श्रमदानबाट संरचना, संरचनाबाट भरोसा
धरान–१८ र १९ को सीमामा रहेको श्रम संस्कृति पार्कसँगै अहिले जेष्ठ नागरिक पार्क निर्माण भइरहेको छ। ढुंगा बोक्ने, जाली हाल्ने र गाह्रो भर्ने काम नाचगानकै बीच चलिरहेको हुन्छ। साम्पाङका अनुसार श्रमदान ‘पीडादायी होइन, उत्सव’ हो।
“देशका लागि काम गर्दा ढाँड सड्काउनै पर्दैन,” उनी भन्छन्, “सकेजति गरे पुग्छ।”
जेष्ठ नागरिक पार्कलाई उनी ‘खुला चिकित्सालय’ भन्छन्—जहाँ वृद्धवृद्धा एक्लोपनबाट जोगिन सकून्। तीन करोडभन्दा बढी लागत अनुमान गरिएको यो परियोजना पनि दाताको सहयोग र श्रमदानमै आधारित छ।
श्रम अभियानले जन्माएको लोकप्रियता
साम्पाङको नेतृत्वमा धरानमा चलेको श्रम अभियानले पार्क मात्र होइन, जनमत पनि निर्माण गर्यो। श्रम संस्कृति पार्कमा दैनिक हजारौं पर्यटक पुग्न थालेका छन्। ३५ रुपैयाँ शुल्क तिरेर अवलोकन गर्न आउनेहरूको संख्या बढ्दो छ।
यसैबीच, कोकाह खोलाबाट पानी धरान ल्याउने परियोजनाले हर्क साम्पाङलाई धरानबाहिर पनि चिनायो। ४२ किलोमिटर जंगल छिचोलेर ९८ दिनमा पानी ल्याउँदा उनी भावुक बने—त्यसले जनताको भरोसा अझ गाढा बनायो।
“भोट माग्दा भनेको कुरा पूरा गरे,” स्थानीय मनोज चौधरी भन्छन्, “त्यसैले विश्वास बढ्यो।”
मेयरबाट राष्ट्रिय आकांक्षातर्फ
श्रम अभियानसँगै हर्क साम्पाङको राजनीतिक आकांक्षा पनि फैलँदै गयो। केही महिनायता ‘हर्कलाई प्रधानमन्त्री’ भन्ने नारा श्रमदानस्थलमै सुनिन थाल्यो। यसैबीच उनले श्रम संस्कृति पार्टी गठन गरे—जहाँ श्रम नगर्नेले टिकट नपाउने सर्त राखियो।
उनको पार्टी संरचना अझै निर्माणकै चरणमा छ। तर गतिविधि तीव्र छ। प्रदेश १ का सबै जिल्लामा सभा भइसकेको छ भने पश्चिम नेपालतर्फ अभियान जारी छ। प्रवासमा समेत समितिहरू बनिरहेका छन्।
महासचिव आरेन राईका अनुसार,
“समानुपातिकतर्फ ११० जनाको सूची बुझाइसक्यौं, प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेद्वार उठाउने तयारी छ।”
तीन मोर्चामा एकैसाथ
हर्क साम्पाङ अहिले तीनवटा काम एकैपटक गरिरहेका छन्—
-
श्रम संस्कृतिको विस्तार
-
संगठन निर्माण
-
चुनावी तयारी
सामाजिक सञ्जालमार्फत उम्मेद्वार छनोटमा समेत जनमत लिइँदैछ। तर पार्टी भित्रै संरचनागत अपूरोपन, पदाधिकारी हेरफेर र सीमित समय चुनौतीका रूपमा देखिन्छन्।
सजिलो छैन सुनसरी–१
आगामी चुनावमा साम्पाङ सुनसरी–१ बाट प्रतिनिधिसभा उम्मेद्वार बन्ने तयारीमा छन्। तर यो क्षेत्र एमालेको परम्परागत किल्ला मानिन्छ। विगतका चुनावी नतिजाले त्यही देखाउँछन्।
यद्यपि, स्थानीय नेताहरू बदलिँदो जनमतलाई पुरानो गणितले नाप्न नमिल्ने बताउँछन्।
“हिजोको राजनीति र आजको जनभावना एउटै छैन,” श्रम संस्कृति पार्टीका एक नेता भन्छन्।
तर आलोचकहरू साम्पाङको व्यक्तिवादी शैली, अधुरा मेयर प्रतिवद्धता र सम्भावित महागठबन्धनलाई चुनौतीका रूपमा देख्छन्।
धरानबाट सुरु भएको कथा कहाँ पुग्ला ?
हर्क साम्पाङको यात्रा सामाजिक अभियन्ताबाट मेयर, र अब राष्ट्रिय राजनीतितर्फ उन्मुख छ। संघर्ष, श्रम र प्रतीकात्मक कामले उनलाई अलग पहिचान दिएको छ।
अब प्रश्न बाँकी छ—
के धरानमा देखिएको उत्सव राष्ट्रिय मतमा रूपान्तरण हुन्छ ?
के श्रम अभियान राजनीतिक शक्तिमा बदलिन्छ ?
उत्तर आगामी चुनावले दिनेछ। तर एउटा कुरा प्रष्ट छ—
हर्क साम्पाङको राजनीति अब धरानमै सीमित छैन।





प्रतिकृया दिनुहोस्