काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र कुनै व्यक्तिको अभिव्यक्तिभन्दा संस्थागत निर्णय नै आधिकारिक हुने बताएका छन्। निर्वाचन आयोगमा पार्टीको आधिकारिकताबारे दाबी पेस गर्न पुगेका कोइरालाले गगन थापाको नेतृत्वमा अघि बढेका नेताहरूलाई ‘चोइटिएर गएको समूह’को रूपमा टिप्पणी गरे।
उनले बहुमत केन्द्रीय सदस्यहरू अझै आफ्नो पक्षमै रहेको दाबी गर्दै निर्वाचन आयोग जानुपर्ने अवस्था सञ्चारमाध्यमको दबाबका कारण सिर्जना भएको बताए। पार्टीको आधिकारिकता निर्धारण गर्दा आयोगले लोकतान्त्रिक प्रक्रियाअनुसार संस्थागत आधार हेर्ने उनको भनाइ थियो।
कोइरालाले पार्टी विधान अनुसार विशेष महाधिवेशनको कार्यसूची, कार्यतालिका र कार्यविधि बनाउने अधिकार केन्द्रीय समितिकै हुने स्पष्ट पारे। कुनै पदाधिकारी वा व्यक्तिगत रूपमा विशेष अधिवेशन बोलाउने अधिकार कसैलाई नभएको उनको जिकिर छ।
उनले पार्टी कार्यालयमा ८८५ जना महाधिवेशन प्रतिनिधिले महाधिवेशनबाट फर्किएको हस्ताक्षर बुझाएको जानकारी दिँदै ती प्रमाण निर्वाचन आयोगमा पनि पेस गरिएको बताए। कोइरालाका अनुसार निर्णय व्यक्तिको होइन, पार्टी संस्थाको हुनुपर्छ, र त्यसकै आधारमा आधिकारिकता निर्धारण गरिनुपर्छ।





प्रतिकृया दिनुहोस्