काठमाडौं ।
निर्वाचन आयोगले गगनकुमार थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई आधिकारिक दलको रूपमा मान्यता दिएको छ। शुक्रबार बसेको आयोग बैठकले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई वैध ठहर गर्दै थापालाई सभापतिको हैसियतमा स्वीकार गरेको हो।
विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको सहभागितासहित थापा सभापति चयन भएपछि उनले केन्द्रीय समितिको निर्णयसहित आयोगमा आधिकारिकताको दाबी पेश गरेका थिए। आयोगले प्रस्तुत गरिएका कागजात, विधान र प्रक्रिया अध्ययन गरेर थापा नेतृत्वको समूहलाई वैधानिक ठहर गरेको जनाएको छ।
पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसको चुनाव चिह्न र झण्डामाथिको अधिकार थापा नेतृत्वको समितिलाई पुगेको छ। यसअघि देउवा पक्षले पनि आफू नै आधिकारिक भएको दाबी गर्दै आयोगमा कागजात बुझाएको थियो।
आयोगको निर्णयप्रति असन्तुष्टि जनाउँदै देउवा पक्षका नेता पूर्णबहादुर खड्काले विधि र प्रक्रिया उल्लंघन भएको आरोप लगाएका छन्। उनले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने चेतावनी दिएका छन्।





प्रतिकृया दिनुहोस्