सिन्धुली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिन्धुली निर्वाचन क्षेत्र नं. १ बाट धनेंद्र कार्कीलाई संघीय संसद सदस्यको उम्मेदवार घोषणा गरेको छ।
लामो समयदेखि यातायात व्यवसाय र सामाजिक सेवामा सक्रिय कार्कीको उम्मेदवारीलाई सिन्धुलीका जनताले वैकल्पिक र जनमुखी राजनीतिक कदमका रूपमा हेरेका छन । तीनपाटन गाउँपालिकाका स्थायी बासिन्दा कार्की १९ वर्षको उमेरदेखि नै यातायात व्यवसायमा संलग्न हुँदै आएका छन्। उनले तीनपाटन गाउँपालिकाका विभिन्न वडाहरूमा यातायात सेवा सञ्चालन गर्दै ग्रामीण भेगका नागरिकलाई सहज आवागमनको पहुँच दिलाउन महत्वपूर्ण योगदान दिएका छन्। उनी ‘बर्दस–३’ यातायात सेवाका जन्मदाता समेत हुन्।
ग्रामीण क्षेत्रबाट उपचारका लागि काठमाडौं आउने बिरामीहरूलाई यातायात तथा आवश्यक सहयोग प्रदान गर्ने कार्यमा कार्की निरन्तर सक्रिय रहँदै आएका छन्। समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै उनले विभिन्न सामाजिक तथा युवा क्लबहरूलाई सहयोग गर्दै आएको स्थानीयको भनाइ छ।
हाल उनी बी.पी. यातायातको एक कार्यालयका निर्वाचित सदस्यको रूपमा कार्यरत छन्। यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा उनले तीनपाटन गाउँपालिका वडा नं. ११ बाट उम्मेदवारी समेत दिएका थिए। जसमा उनले पराजय भोगेका थिए । पराजय व्यहोरे पनि स्थानीय राजनीति र जनसमस्याबारे थप अनुभव बटुलेको कार्की बताउँछन्।
यातायात व्यवसाय, सामाजिक सेवा र स्थानीय स्तरको अनुभवलाई आधार बनाउँदै संघीय संसदमा सिन्धुलीका जनताको आवाज बलियोसँग उठाउने प्रतिबद्धतासहित उम्मेदवारी दिएको कार्कीको भनाइ छ। सिन्धुली–१ मा उनको उम्मेदवारीलाई नयाँ पुस्ताको भरोसायोग्य विकल्प र परिवर्तनको आशाका रूपमा लिइएको छ।





प्रतिकृया दिनुहोस्